काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीहरूलाई बोलाएर उनले १०औं राष्ट्रिय खेलुकद गर्न सम्पूर्ण तयारी गरी मिति स्थान अध्ययन गरेर मात्र मिति घोषणा गर्न निर्देशन दिएका हुन्।
ओली राखेपका संरक्षक पनि हुन्। राखेपका सदस्य कमल भट्टराईका अनुसार भेटमा विभिन्न २२ वटा राष्ट्रिय खेल संघका पदाधिकारिहरूसँग पनि छलफल गरेका थिए। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खेलकुद परिषदका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूबाट खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच उचित समन्वय हुनुपर्ने विषयमा पनि निर्देशन दिनुभएको छ। साथै २२ वटा खेलकुद संघसँग पनि खेलकुदका विषयमा व्यापक छलफल भयो।’
१०औं राष्ट्रिय खेलकुद गत वर्ष मंसिरमै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय थियो। तर, चारपल्ट मिति सरिसक्दा पनि अझै अनिश्चित बनेको छ।