काठमाडौं। युरो २०२५ महिला फुटबल च्याम्पियनसिपमा सबैभन्दा प्रविधि रुपमा उत्कृष्ट देखिएको स्पेनको टोली उपाधि भने जित्न सकेन।
सन् २०२३ को महिला विश्वकप विजेता र २०२४ युइएफए नेसन्स लिग च्याम्पियन स्पेनले आइतबार फाइनलमा इङ्ल्यान्डसँग पेनाल्टी सुटआउटमा ३–१ दुखद् हार बेहोर्नुपर्यो।
योसँगै स्पेन फेरि उपाधिविहीन भएर फर्किएको छ। निर्धारित तथा अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएको थियो।
पुरै प्रतियोगिता भरि स्पेन चार मिनेटका लागि मात्र पछाडि परेको थियो। तर, उपाधि भने उसकै हातबाट खुस्किन पुग्यो। अर्कोतर्फ इङ्ल्यान्डले नकआउट चरणका तीन खेलमा जम्मा पाँच मिनेटको लागि मात्र अग्रता लिएको थियो। फाइनलमा त एक सेकेन्ड पनि लिन सकेन।
दुःखी मुद्रामा स्पेनकी स्टार खेलाडी आइतना बोनमाटीले भनिन्,‘हामी प्रतियोगिताको सबैभन्दा उत्कृष्ट टोली थियौं, तर कहिलेकाहीँ त्यो पर्याप्त हुँदैन।’
हालै भाइरल मेनिन्जाइटिसबाट निको भएर उनी युरो २०२५ खेल्न फर्किएकी थिइन्। उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफी प्रदान गरियो। तर, उनको पेनाल्टी प्रहार इङ्ल्यान्डकी गोलकिपर हाना ह्याम्पटनले रोकेकी थिइन्।
पहिलो हाफमा मरिओना काल्देन्तेले २५औं मिनेटमा हेडरमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्। उनले दोस्रो गोलको मौका पनि पाएकी थिइन्, तर चुकिन्।
दोस्रो हाफको सुरुआतमा काल्देन्तेको आर्सनलकी दुई साथीसँगै मैदानमा फर्किएका इङ्ल्यान्डकी स्टार क्लोइ केली र अलेसिया रुस्सोले उत्कृष्ट तालमेल गर्दै बराबरी गोल गरे।
‘म अझै पनि झस्किएको छु,’ बोनमाटीले भनिन्,‘यो एकदमै क्रुर थियो। हामीले राम्रो खेल्यौं, धेरै अवसर बनायौं तर कहिलेकाहीँ फुटबलमा त्यो पुग्दैन। अन्ततः सबै पेनाल्टीमा आएर रोकियो।’
स्पेन अझै पनि हालको विश्व च्याम्पियन हो। अब सन् २०२७ को ब्राजिलमा हुने महिला विश्वकपका लागि तयारी थाल्नेछ। ‘हामी फर्कनेछौं,’ बोनमाटीले अन्त्यमा भनिन् ‘केही वर्षपछि विश्वकप छ र अहिले हाम्रो लक्ष्य त्यही हो। यो एउटा सुनौलो पुस्ता हो, धेरै युवा खेलाडीहरू छन् र हामी अझ बलियो भएर फर्किनेछौं।’