काठमाडौं । नेपाल एथलेटिक्स संघका महासचिव धनबीर चौधरी सहितको समूहले संघको निर्वाचन रोक्न माग गरेको छ ।
काठमाडौंमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर महासचिव चौधरी सहितको समूहले गैरकानुनी रुपमा जिल्ला तथा प्रदेशको निर्वाचन गर्न लागेको आरोप लगाउँदै संघको निर्वाचन सम्बन्धि गतिविधिमा रोक लगाउन माग गरेको हो ।
असन्तुष्ट समूहले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ विपरित राखेपबाट विधान स्वीकृत नगरीनै जिल्ला तथा प्रदेशको निर्वाचन गराएको आरोप लगाएको छ ।
जिल्ला तथा प्रदेशका पदाधिकारीलाई भ्रम र प्रलोभनमा पारी अवैध कमिटी गठन गरेको आरोप सो समूहको छ ।
राखेपले २०८० साल जेठ ३० गते गठन गरेको नेपाल एथलेटिक्स संघ तदर्थ कमिटीको बहुमत सदस्यले अवैधानिक अवस्थाको हालको एथ्लेटिक्स संघमाथि अदालतमा रिट दायर गरेको अवस्थामा रहेको उल्लेख गर्दै अदालतको फैसला आएपछि मात्र निर्वाचन प्रकृया अघि बढाउन असन्तुष्ट समूहको माग छ ।
समूहमा महासचिव धनबीर चौधरी सहित सदस्यहरु पिताम्बर तिमल्सिना, सुर्यलाल भण्डारी, प्रभाकर पाण्डे, दिपक रानाभाट, सैलेन्द्र पाण्डे, जितेन्द्र चौधरी, कल्पना चौधरी, किशोरलाल अमात्य, कुमारलाल श्रेष्ठ, गिता बस्नेत र जनक रावल रहेका छन् ।
राखेपले राजीवबिक्रम शाहलाई संयोजक तोक्दै निर्वाचन गराउने जिम्मेवारी सहित संघको तदर्थ समिति गठन गरेको छ । आवश्यक कागजात नपुगेको भन्दै शाह संयोजकत्वको समितिले माग गरे अनुसारको निर्वाचनको अनुमती दिन राखेपले अस्विकार गरेको छ ।
विधाननै स्वीकृत नगरेर जिल्ला तथा प्रदेशको निर्वाचन अघि बढेको भन्दै असन्तुष्ट समूहले एथलेटिक्स संघको तत्काल निर्वाचन रोक्न माग गरेको छ ।