काठमाडौं। एसियाली क्रिकेट परिषद् (एसीसी)ले थप तीन राष्ट्रलाई सदस्यता दिएको छ।
दुईदिने एसीसी वार्षिक साधारणसभाको पहिलो दिन बिहीबार मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई सदस्यता दिएको हो।
योसँगै एसीसीको सदस्य राष्ट्र ३० पुगेको छ। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का पूर्ण सदस्य प्राप्त टोली हुन्।
एसिया क्षेत्रबाट युएई, नेपाल र ओमान तीन एसोसिएट राष्ट्रले आइसीसीबाट ओडिआइ र टी–२० आई सदस्यता प्राप्त गरेका छन्।
थपिएका तीनसहित २० राष्ट्र भने आइसीसीका टी–२० मान्यता प्राप्त टोली हुन्। ब्रुनाइ र चाइनिज ताइपेईले एसीसीबाट मान्यता पाए पनि आइसीसीबाट भने अझै मान्यता प्राप्त गर्न सकेका छैनन्।