काठमाडौं। आइसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत जारी पाँच खेलको टेस्ट सिरिजमा भारतलाई चोटको समस्या झन् बढेका छन्।
यसअघि भारतले अलराउन्डर नितिशकुमार रेड्डीलाई सिरिजबाट गुमाइसकेको छ भने लर्ड्स टेस्टपछि तीव्र गतिका बलर आकाश दीप र अर्शदीप सिंह पनि चोटका कारण टिमबाहिर छन्।
विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि अब बाँकी म्यानचेस्टर टेस्टमा विकेटकिपिङ गर्न नसक्ने भएका छन्। यद्यपि, उनी आवश्यक परे ब्याटिङ गर्न भने उपलब्ध हुने बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले पुष्टि गरेको छ।
बोर्डले भनेको छ,‘म्यानचेस्टर टेस्टको पहिलो दिन दाहिने खुट्टामा चोट लागेका ऋषभ पन्तले अब बाँकी खेलमा विकेटकिपिङ गर्ने छैनन्।’ अब पन्तको सट्टामा युवा खेलाडी ध्रुव जुरेलले विकेटकिपिङ गर्ने जिम्मेवारी लिएका छन्।
उनलाई पहिलो दिनको ६८औं ओभरमा चोट लागेको हो। क्रिस वोक्सको फूल–लेन्थ बललाई रिभर्स स्वीप गर्ने प्रयास गर्दा पन्तको ब्याटबाट बल सिधा उनको दाहिने खुट्टामा लाग्यो।
त्यसपछि उनले तत्कालै फिजियोको उपचार लिए। तर, असहज महसुस भएपछि उनी मैदानबाट बाहिरिए। बोर्डले चोटको थप जाँचका लागि उनलाई स्क्यानका लागि लगिएको जानकारी दिएको थियो।
यस शृंखलामा पन्त सानदार फर्ममा थिए। सात इनिङ्सबाट ४६२ रन बनाइसकेका उनले दुई शतक र दुई अर्धशतकसहित औसत ६६ कायम गरेका छन्। रनको हिसाबले उनी शुभमन गिलपछि दोस्रो स्थानमा छन्।
यसअघि भारतले अलराउन्डर नितिशकुमार रेड्डीलाई सिरिजबाट गुमाइसकेको छ भने लर्ड्स टेस्टपछि तीव्र गतिका बलर आकाश दीप र अर्शदीप सिंह पनि चोटका कारण टिमबाहिर छन्।
पन्तको चोटले भारतको समस्यामा थप चुनौती थपिएको छ। अहिले भारत ५ टेस्टको सिरिजमा २–१ ले पछि परेको छ र म्यानचेस्टरमा इंग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि पहिलो दिन भारतले ४ विकेट गुमाएर २६४ रन बनाएको छ।