काठमाडौं। एसियाली क्रिकेट परिषद (एसीसी) का अध्यक्ष मोहसिन नकवीले ढाकामा बुधबार एक महत्वपूर्ण संकेत दिएका छन्–आगामी एसिया कपको घोषणा चाँडै हुने छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)सँग बाँकी रहेको केही विषय टुंग्याइएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने उनले बताए।
‘एसिया कपसम्बन्धी घोषणा पनि चाँडै हुनेछ,’ नकवीले ढाकामा सुरु भएको दुईदिने एसीसी वार्षिक साधारणसभाको पहिलो दिन पत्रकारहरूसँग भने,‘हामी बीसीसीआईसँग समन्वयमा छौं। केही समस्या बाँकी छन्, जसलाई चाँडै समाधान गर्नेछौं। मैले र अमिनुल भाइ (बंगलादेश क्रिकेट बोर्ड अध्यक्ष अमिनुल इस्लाम बुलबुल) ले यसबारे छलफल गरेका छौं र सकेसम्म छिट्टै समाधान गर्ने निर्णय लिएका छौं।’
एसीसीमा २५ सदस्य राष्ट्र छन्। सबै सदस्य राष्ट्रले बैठकमा भाग लिए। कोही प्रत्यक्ष रूपमा उपस्थित थिए। केही भने जुममार्फत सहभागी भए।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत रहेका नकवीका अनुसार बीसीसीआइसँग केही कुरा बाँकी नै छ। त्यो समाधान हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको उनले बताए। त्यसपछि एसिया कप हुने उनको भनाइ छ।