काठमाडौं। गत वर्षको अन्त्यमा सुरु भएको बोर्डर–गावस्कर ट्रफीदेखि अहिलेसम्म भारतले टेस्ट क्रिकेटमा नम्बर ३ मा पाँचजना ब्याटर प्रयोग गरिसकेको छ।
कुल सात पटक यो स्थानमा परिवर्तन गरिएको छ। सुरुआतमा शुभमन गिल घाइते भएपछि देवदत्त पडिक्कलले स्थान पाए। त्यसपछि गिल टोलीमा फर्किए। पछि उनलाई पुनः बाहिर राखेर केएल राहुल ल्याइयो।
गिल पुनः कप्तानको रूपमा आएपछि उनी नम्बर ४ मा फर्किए। जसले गर्दा नम्बर ३ साई सुदर्शनलाई दिइयो। त्यसपछि करुण नायरले दुई टेस्ट खेले र अहिले फेरि साई सुदर्शनले त्यो स्थान सम्हालिरहेका छन्।
म्यानचेस्टर टेस्टमा अन्तिम छनोट साई सुदर्शन र नायरमध्ये को खेल्ने भन्नेबारेमा ढिला निर्णय भएको देखिन्थ्यो। अन्ततः भारतले साई सुदर्शनलाई छनोट गर्यो। भारतले फेरि एक पटक राहुल द्रविड र चेतेश्वर पुजाराजस्ता स्थायी नम्बर ३ लाई सम्झिँदै योजना अनुसार अगाडि बढेको देखिन्छ। तर यसपटकको ब्याटरको प्रथम श्रेणी औसत ३९.९३ मात्र छ।
१९८८ मा डब्ल्यूभी रमनपछि पहिलो पटक भारतले ४० भन्दा कम औसत भएका स्पेसलिस्ट ब्याटरलाई डेब्यु गराएको हो। सामान्यतया भारतको टेस्ट टोलीमा स्थान बनाउन कम्तीमा ६० को औसत चाहिन्छ। सूर्यकुमार यादवलाई केही समयअघि अपवादको रूपमा समावेश गरिएको थियो, जसको औसत ४२.३३ छ।
साई सुदर्शनको विषय भने फरक छ। लगभग सबैले उनको प्रशंसा गरेका छन्। रविचन्द्रन अश्विनले साई सुदर्शन १७ वर्ष हुँदा नै क्लब क्रिकेट खेलेका थिए र त्यति उमेरमै उनको स्पष्ट गेम प्लान देखेर आश्चर्यचकित भएका थिए। उ
त्यसपछि तमिलनाडु प्रिमियर लिगमा अश्विन आफैंले उनलाई लिन इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा बोलि लगाए। आइपीएलमा गुजरात टाइटन्सले उनीमाथि ठूलो विश्वास राख्यो। राष्ट्रिय छनोटकर्ताहरूले उनको प्रथम श्रेणी प्रदर्शन भन्दा माथि उठेर उनलाई टेस्टमा मौका दिइरहेका छन्।
छनोटकर्ताका अनुसार उनमा दुईको मुख्य विषेशता छ। प्रतिस्पर्धात्मकता र रन बनाउने क्षमता। तर, टेस्ट क्रिकेटमा सफलता पाउन सजिलो छैन। पहिलो टेस्टमै बेन स्टोक्सले लेग साइडमा फसाउने रणनीति बनाएका थिए र साई दुईपटक त्यसरी नै आउट भए। त्यसपछि उनलाई दुई टेस्टमा बाहिर राखियो।
तरऽ अहिले म्यानचेस्टरमा उनी फेरि नम्बर ३ मा आए र चुनौतीपूर्ण पिचमा फेरि आफ्ना दुई गुण देखाए। प्रतिस्पर्धात्मकता र परिस्थितिको समाधान निकाल्ने क्षमता। उनले फेरि भारतलाई स्थिरता दिएका छन्। यो नम्बर ३ बाट अपेक्षित हुन्छ।
बोर्डर–गावस्कर ट्रफीदेखि पछिल्ला ९ टेस्टमा यो भारतको तर्फबाट नम्बर ३ मा आएको यो पहिलो अर्धशतक हो। साई सुदर्शन अझ लयमा आउनेछन्। कहिलेकाहीं भाग्यले साथ नदिन सक्छ। तर, ऋषभ पन्त घाइते भएर बाहिरिएको दिन उनले निभाएको जिम्मेवारीले देखाउँछ– भारतले सम्भवतः अब आफ्नो नयाँ नम्बर ३ भेटिसकेको छ।