रुपन्देही । तिलोत्तमा राइडर्सको आयोजना भएको प्रथम तिलोत्तमा कोरा २०२५ शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा १ सय २० राइडर्सको सहभागिता रहेको थियो ।
तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खांडले सो साइक्लिङ कार्यक्रमको उद्घाटन तथा समापन गरेका थिए ।
उनले रुपन्देहीको प्रबर्द्धन गर्ने उद्धेश्यले राम्रो कार्यक्रमको सुरुआत भएको बताउँदै आगामी वर्षदेखि नगरपालिका समेत जोडिएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतियोगितामा सबैभन्दा सानो राइडर्र्सको रुपमा ११ वर्षका आश्विनी खरेल र १२ वर्षका सिद्धान्त आचार्यलाई पुरस्कृत गरिएको थियो । त्यस्तै भेट्रान्स जोडीमा नूरमदन थापा र सरस्वती थापाले पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा मेची महाकाली परिक्रमा गर्ने एचबी वर्मा र पवन दमासेलाई सम्मान गरिएको थियो ।
करिब ५० किलोमिटर दुरीको राइड रुपन्देहीको दुर्गा मन्दिरबाट सुरु भएर नवज्योति स्कुल हुदै बाउन्न कोटी, मोक्षधाम, बौद्ध विहार हुदै बनबाटिकामा पुगेर समापन भएको थियो ।
कोरा साइकल राइडको ढाचामा सञ्चालन गरिएको कार्यक्रम समाज परिवर्तनका निम्ति सकारात्मक सन्देश फैलाउने उद्धेश्यले आयोजना गरिएको आयोजक तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले बताए ।