रुपन्देही । तिलोत्तमा ‘कोरा साइक्लिङ’ आगामी शनिबार आयोजना हुने भएको छ ।
तिलोत्तमा राईडर्सको आयोजनामा शनिबार तिलोत्तमा कोरा साइक्लिङ आयोजना हुन लागेको हो ।
कोरा साइकल राइडको ढाचामा सञ्चालन गर्न लागिएको कार्यक्रमको नारा ‘राइड फर अ कज’ राखिएको छ ।
समाज परिवर्तनका निम्ति सकारात्मक सन्देश फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले बताए ।
संस्कृत शब्द कोरालाई ‘परक्रमण’ भन्ने गरिन्छ ।
साइकल यात्रीहरुबीच एकता, स्वास्थ्यप्रति सचेतना र वातावरणमैत्री यातायात प्रबद्र्धन गर्ने उद्धेश्य कार्यक्रम आयोजना गर्न लागिएको गुरुङले जानकारी दिए ।
आयोजकले सम्पुर्ण साइकलप्रेमी, युवा, विद्यार्थी, महिला र खेलप्रेमीलाई ऐतिहासिक साइकल राईडमा सहभागी हुने अपिल गरेको छ ।
करिब ५० किलोमिटर दुरीको राइड दुर्गा मन्दिरबाट सुरु भएर नवज्योति स्कुल हुदै बाउन्न कोटी, मोक्षधाम, बौद्ध विहार हुदै बनबाटिकामा पुगेर समापन हुनेछ ।
सबै उमेर समूहका राइडर सहभागी हुने कार्यक्रममा सय बढीले भाग लिने अपेक्षा आयोजकको छ ।
