काठमाडौं । फिफाले नेपालमाथि लगाउँदै आएको 'कन्ट्रोल फन्डिङ'लाई हटाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार प्रेस रिलिजमार्फत एन्फामाथि लाग्दै आएको 'कन्ट्रोल फन्डिङ' हटेको बताएको हो ।
करिब तीन वर्ष अघि एन्फाको खर्च प्रणाली व्यवस्थित र पारदर्शी नभएको भन्दै फिफाले नेपालमाथि दिदै आएको सहायता रकम नियन्त्रणमा आधारित थियो । अर्थात फिफासँग पूर्व स्वीकृति लिएरमात्र खर्च गर्नुपर्ने बाध्यता एन्फामाथि थियो ।
करिब तीन वर्षको निरन्तरको अनुगमन र खर्च प्रणालीलाई व्यवस्थित गरेपछि फिफाले नेपालमाथिको नियन्त्रणलाई हटाएको हो ।
अब एन्फाले फिफा, एएफसीबाट प्राप्त गर्ने अनुदानमा पूर्व स्वीकृति लिनुपर्ने छैन । आफ्नो योजना अनुसार एन्फाले अनुदान रकमलाई खर्च गर्न पाउनेछ ।
'कन्ट्रोल फन्डिङ'का कारण तत्कालिन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान एन्फाको कार्यसमितिलाई काम गर्न समस्या परिरहेको थियो ।