काठमाडौं। रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एम्बाप्पे क्लब विश्वकपको मेक्सिकन क्लब पाचुकाविरुद्धको खेल गुमाउने भएका छन्।
उनी चार्लोट प्रस्थान गरेका छैनन्। यद्यपि, उनी समूह चरणको खेलमा अन्तिम फिर्ता हुने सम्भावना रहेको मुख्य प्रशिक्षक जाबी आलोन्सोले जानकारी दिए।
फ्रान्सेली सुपरस्टार एम्बाप्पेलाई बिहीबार पेटको संक्रमण (ग्यास्ट्रोएन्टेराइटिस) का कारण अस्पताल लगिएको थियो। आवश्यक परीक्षण र उपचारपछि उनलाई डिस्चार्ज गरिएको थियो।
एम्बाप्पेको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। तर, उनी आइतबार पाचुकाविरुद्ध हुने खेलका लागि टोलीसँगै उडेका छैनन्। प्रशिक्षक आलोन्सोले खेलअघि आयोजित पत्रकार सम्मेलनमा एम्बाप्पेको अवस्थाबारे अपडेट दिँदै भने, ‘उनी अस्पतालबाट फर्किसकेका छन् र बिस्तारै रिकभर हुँदैछन्। हामी उनलाई साल्जबर्गविरुद्धको खेलमा खेलाउने आशावादी छौं।’
रियलले समूह ‘एच’ को अन्तिम खेल बिहीबार फिलाडेल्फियामा अस्ट्रियाली क्लब साल्जबर्गविरुद्ध खेल्नेछ। २६ वर्षीय एम्बाप्पेले पहिलो खेल पनि यही रोगका कारण गुमाएका थिए। उक्त खेलमा रियलले साउदी क्लब अल–हिलालसँग १–१ को बराबरी खेलेको थियो। त्यो खेल आलोन्सोको प्रशिक्षकका रूपमा पहिलो थियो।
एम्बाप्पेको स्थानमा रियल ‘बी’ टोलीका २१ वर्षीय स्ट्राइकर गोन्जालो गार्सियाले सुरुआत गरेका थिए। सो खेलमा पहिलो गोल गरेका थिए।
आलोन्सोले गोन्जालोलाई फेरि पनि सुरुआत गराउने संकेत दिंदै भने, ‘गोन्जालोले अघिल्लो खेलमा राम्रो गरे। उनले गोल गरे, तीनवटा अवसर सिर्जना गरे। भविष्यमा के हुन्छ हेर्न बाँकी छ। तर, गोल गर्ने सेन्स अफ स्मेल भएका खेलाडीहरू टोलीका लागि निकै महत्त्वपूर्ण हुन्छन्। उनले निकै राम्रो खेले।”
एम्बाप्पेले रियलमा आफ्नो पहिलो सिजनमै ला लिगामा ३१ गोल गर्दै युरोपियन गोल्डेन बुट जितेका थिए। सबै प्रतियोगितामा ४३ गोल गरेका थिए। तर, उनको टोलीले गत सिजन कुनै पनि ठूला उपाधि जित्न सकेन।