काठमाडौं। महिला युरोपेली च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता जनाउने वेल्स राष्ट्रिय टोलीको टिम घोषणा एक अनौठो तर भावुक तरिकाले गरिएको छ।
टोलीकी प्रशिक्षक रिआन विल्किन्सनले वेल्सको सबैभन्दा अग्लो हिमाल स्नोडोन (वेल्स भाषामा ‘इर विद्भा’)को चुचुरो चढेर टोली घोषणा गरेकी हुन्।
क्यानडाली बुबा र वेल्समा जन्मेकी आमाकी छोरी विल्किन्सनले बिहीबार बिहान सबेरै ३ हजार ५६० फिट (१ हजार ८५ मिटर) अग्लो हिमाल चढ्न यात्रा सुरु गरेकी थिइन्। उनी पैदल चढेकी हुन् भने पत्रकारहरू बिहान ७ बजे ट्रेनबाट हिमालको शिखरसम्म पुगेका थिए।
विल्किन्सनले वेल्सलाई पहिलो पटक कुनै ठूलो फुटबल प्रतियोगिता (युरो) मा पुर्याएकी हुन्। उनले यो यात्रा कठिन हिमाल चढाई जस्तै भएको बताइन्।
‘हामीलाई थाहा थियो, यो सजिलो हुनेवाला छैन। सानातिना बाधाहरू आउँछन् नै,’ चुचुरोमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्,‘हिमाल चढाई भनेको के हो? कहिले चढ्न गाह्रो, कहिले अलिक सहज तर अन्तिम लक्ष्य भनेको चुचुरोमा पुग्नु नै हो।’
उनले थपिन्,‘यात्रा सुरु गर्दा नै हामीले यो हिमाललाई अभियानको प्रतीक बनाएका थियौं। र अब युरोकप खेल्न जाँदै गर्दा हामीले एभरेस्ट अर्थात् सबैभन्दा उच्च लक्ष्यको कुरा गर्न थालिसकेका छौं। असम्भव लाग्ने कुरा तबसम्म असम्भव हुन्छ जबसम्म त्यो सम्भव हुँदैन। अहिले हामी त्यही मोडमा छौं।’
विल्किन्सनका लागि इर विद्भा व्यक्तिगत रूपमा पनि धेरै अर्थपूर्ण छ। उनका बाबुआमाले हनिमुन त्यहीँ मनाएका थिए। सानैमा उनी त्यहाँ हिँडेकी थिइन् र बाबुको मृत्युपछिको स्मृति समारोह पनि त्यहीँ गरिएको थियो।
टोलीमा ३३ वर्षीया सोफी इङ्गलको पनि पुनरागमन भएको छ। सेप्टेम्बरदेखि घुँडाको लिगामेन्ट चोटका कारण बाहिर रहेकी उनले १४१ खेलमा वेल्सको प्रतिनिधित्व गरिसकेकी छन्। उनले २०१५–२०२४ बीच ८३ खेलमा कप्तानी गरेकी थिइन्।
वेल्सको महिला फुटबल इतिहासमै यो पहिलो युरो यात्रा हो। यसको घोषणा शैलीले पनि एउटा प्रेरणादायी कथा बोकेको छ।