काठमाडौं। युद्धको पीडाभित्र रहेर १६ खेल लामो विश्वकप छनोट यात्रा तय गर्दै आएको प्यालेस्टाइन राष्ट्रिय फुटबल टोलीको सपना अन्तिम मिनेटमा एक विवादास्पद पेनाल्टीका कारण चकनाचुर भएको छ।
गत बिहीबार अम्मानको किंग अब्दुल्ला रंगशालामा भएको खेलमा ओमानविरुद्ध प्यालेस्टाइनले ९७औं मिनेटसम्म १–० को अग्रता लिएको थियो। तर, पेनाल्टीमार्फत गोल खाँदै खेल १–१ को बराबरीमा सकियो। सो बराबरीसँगै प्यालेस्टाइनको विश्वकप छनोट यात्रा समाप्त भयो।
टोलीका स्टार स्ट्राइकर ओदाय दब्बाघले भने, ‘यो हाम्रो लागि धेरै ठूलो अवसर थियो। हामीले राम्रो तयारी गरेका थियौं, सकारात्मक माहोल थियो र समर्थकको साथ थियो। हामीले सबै दिन्छौं भनेर खेलेका थियौं, तर एक क्षणमै सबै सकियो।’
विश्व वरीयता १०१औं स्थानमा रहेको प्यालेस्टाइनले समूह ‘बी’का अन्तिम तीन खेल जित्नुपर्ने अवस्थामा इराक (बसरामा) र कुवेत (कुवेत सिटी)लाई पराजित गरेको थियो। तर, ओमानविरुद्ध अन्तिम खेल बराबरीमा सकिएपछि प्यालेस्टाइन एक अंकको अन्तरले पाँचौं स्थानमा रहेर छनोटबाट बाहिरियो।
प्यालेस्टाइन फुटबल संघले खेलपछि सो पेनाल्टी निर्णयविरुद्ध फिफामा उजुरी पनि दिएको थियो, तर नतिजा परिवर्तन भएन।
इजरायल–हामास युद्धका कारण प्यालेस्टाइनले घरेलु खेल गाजामा वा वेस्ट बैंकमा गर्न पाएन। तसर्थ प्यालेस्टाइनले जोर्डनको अम्मानलाई वैकल्पिक घरेलु मैदान बनाएको थियो। ‘आफ्नै घरेलु मैदानमा खेल्दा सजिलो हुन्छ, तर परिस्थितिले हामीलाई अरुको मैदानमा खेल्न बाध्य बनायो,’ दब्बाघले बताए।
२०२३ मा युद्ध सुरु भए यता प्यालेस्टाइनमा कुनै घरेलु फुटबल लिग सञ्चालन भएको छैन। खेल संरचनाहरू ध्वस्त छन् र सयौं खेलाडीले ज्यान गुमाइसकेका छन्।
हाल राष्ट्रिय टोलीका २७ मध्ये २५ खेलाडी विदेशी क्लबमा अनुबन्धित छन्। सुरुमा वेस्ट बैंक वा गाजाबाट बाहिर जान नसकेका खेलाडी अहिले विदेशी क्लबमार्फत मैदानमा छन्। टोलीले अल्जेरिया, कतार र साउदी अरेबियामा प्रशिक्षण लिएको थियो।
प्यालेस्टाइनले २०२७ मा साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान सुरक्षित गरिसकेको छ। स्टार स्ट्राइकर दब्बाघ भन्छन्, ‘हामी फुटबललाई सन्देश बनाइराख्नेछौं, प्यालेस्टाइनमा आशा र प्रतिभा छन्। सपना समाप्त भएको छैन।’