काठमाडौं। एन्फा महिला फुटबल लिग छनोट प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित १६ क्लबले सहभागिता जनाउने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वैशाख २६ गते वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिगको छनोट १ देखि १६ असारसम्म सञ्चालन हुने तय गरेको थियो।
तर, क्लबहरूले तयारी थालेपछि एन्फाले साउन २७ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको छ। प्रतियोगितामा यसपल्ट प्रदेशका टोली सहभागी हुने छैनन्। अघिल्लोपल्ट सात प्रदेशले छनोट खेलेका थिए। त्यसबाट कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश छनोट भएर लिगमा पुगेका थिए। कोशीले भने सुपर लिगमा समेत स्थान बनाएको थियो। तर, आर्थिक अभावका कारण सुपर लिगबाट नाम फिर्ता लिएको थियो। उसको साटोमा बागमती युथ क्लबले सुपर लिग खेलेको थियो।
छनोटमा चर्च ब्वाइजबाहेक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबले सहभागिता जनाउने छन्। यस्तै, नेपाल सुपर लिगको फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसी र झापा एफसीले पनि खेल्नेछन्।
प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गर्नेछ।
