पिएसजीको सानदार सुरुआत

काठमाडौं। च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले सोमबार भएको क्लब विश्वकपको आफ्नो पहिलो खेलमा एट्लेटिको मड्रिडलाई ४–० ले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ।
फाबियन रुइज र भिटिन्हा ले पहिलो हाफमा गोल गरे। दोस्रो हाफमा सेनी मायुलु र ली काङ–इनले दुई गोल थप गरे। खेल अमेरिकाको प्रतिष्ठित रोज बाउल स्टेडियममा ८०,६१९ दर्शकको अगाडि सम्पन्न भएको थियो। यो त्यही स्टेडियम हो, जहाँ सन् १९९४ को विश्वकप फाइनलसमेत आयोजना गरिएको थियो।
यो खेल ३२ टोली सहभागी क्लब विश्वकपको समूह चरणकै सबैभन्दा चर्चित भिडन्तमध्ये एक थियो। पिएसजीले पहिलो हाफमै बल नियन्त्रणमा राख्दै दबाब बनाएको थियो। रुइजले १९औं मिनेटमा पेनाल्टी क्षेत्रको छेउबाट उत्कृष्ट गोल गरे। भिटिन्हाले पहिलो हाफको इन्जुरी समयमै ख्विचा ख्वारात्स्खेलियाको दोस्रो असिस्टमा गोल थपे।
एट्लेटिकोका क्लेमेन्ट लेङ्ले ७८औं मिनेटमा दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए। एट्लेटिकोका प्रशिक्षक डिएगो सिमियोन खेलको निर्णय र टोलीको कमजोरीप्रति आक्रोशित देखिए।
फ्रान्सबाट खेल्दा चोट बोकेका कारण ओस्मान डेम्बेले पिएसजीको टोलीमा थिएनन्। उनको स्थानमा गोन्सालो रामोसले खेलको सुरुआती ११ मा स्थान बनाएका थिए। दोस्रो हाफमा एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल गरेका थिए।
तर, भिएआरले कोकेले डेजिरे डोउलाई फउल गरेको भन्दै गोलको मान्यता दिएन। ८२औं मिनेटमा एलेक्ज्यान्डर सर्लोथले खाली पोस्टमा गोल गर्न असफल भए। लगत्तै मायुलुले पिएसजीको तेस्रो गोल गरे। खेलको अन्तिम प्रहारमा लि काङ–इनले पेनाल्टीमार्फत चौथो गोल गरे।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)


