काठमाडौं। क्लब विश्वकपको उद्घाटन खेलमा दुई अर्जेन्टिनी खेलाडी एकै टोलीबाट मैदान उत्रिएका थिए। तर, चम्किए त एक मात्रै।
ती हुन्,गोलकिपर ओस्कार उस्टारी। आइतबार बिहान सम्पन्न समूह ‘ए’ को खेलमा उस्टारीसम्मिलित इन्टर मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेल्यो।
सो खेलमा ३८ वर्षीय उस्टारीले अहलीरुद्धको खेलमा आठ सानदार बचाउ गरे। त्यसमा पहिलो हाफको अन्त्यतिर ट्रेजेगेको पेनाल्टी रोक्नु र त्यसपछि फर्किएको बलमा पनि तत्काल प्रतिक्रिया जनाउनु विशेष थियो।
३३औं मिनेटमा हेडर रोकिएको क्षण पनि निर्णायक सावित भयो। टोलीका स्टार स्ट्राइकर लुइस सुआरेज उनको यही सानदार प्रदर्शनका कारण मियामी पहिलो खेलमै पराजित हुनबाट जोगिएको स्वीकार्छन्।
भन्छन्, ‘हामीले त्यस्तो अपेक्षा गरेका थिएनौं, अल अहलीका किपरले यति धेरै बचाउ गर्लान्। तर, उस्टारी पहिलो हाफमा खेलका प्रमुख खेलाडी बने। गोलकिपरले पनि खेल जिताउन सक्छ भन्ने कुरा यसले उनले देखाए।’
यो विश्वकप नयाँ ढाँचामा भएको हो। उस्टारीका लागि यो विश्वकपको दोस्रो अनुभव रह्यो। उनले सन् २००५ मा अर्जेन्टिनालाई यु–२० विश्वकप जिताएका थिए। त्यो टोलीका कप्तान थिए, लिओनल मेसी। उनी हाल मियामीका कप्तान हुन्।
त्यसपछि उनी पहिलोपल्ट विश्वकपको मञ्चमा फर्किएका हुन्। मियामी आउनु अघि उस्टारी मेक्सिकोको सिएफ पाचुका क्लबका कप्तान थिए। त्यो क्लब पनि यसै प्रतियोगितामा सहभागी छ।
तर, क्लब लियोनसम्बन्धी विवादमा पर्यो। फिफाले लियोनलाई प्रतियोगिताबाट हटाएको थियो। दुवै क्लब एउटै स्वामित्व (ग्रुपो पोचुका) अन्तर्गत भएकाले विवाद उत्पन्न भएको हो।
पाचुकाबाट १२४ खेल खेलेपछि उस्टारी चिलीको पहिलो डिभिजन क्लब अडाक्स इटालियानो गए। सेप्टेम्बर २०२४ मा मियामीमा फ्री एजेन्ट खेलाडीको रूपमा आएका उनले अहिलेसम्म २२ खेल खेलिसकेका छन्, जसमध्ये ८ खेल कन्काकाफ च्याम्पियन्स कपमा हुन्।
पहिलो खेलमै कीर्तिमानी ६ पल्टको बलोन डि’ओर च्याम्पियन मेसीलाई छायामा पारेका उनी कुराभन्दा कामले आफूलाई प्रमाणित गर्न रुचाउँछन्।
उनी भन्छन्,‘म आफूलाई लिएर धेरै बोल्न चाहन्न। टोलीले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्यो, मलाई त्यही सबैभन्दा महत्त्वपूर्ण लाग्छ।’