काठमाडौं। गत सिजनको निराशाजनक प्रदर्शनपछि म्यानचेस्टर सिटी क्लब विश्वकपमार्फत पुनः जितको लयमा फर्कन चाहन्छ।
क्लबले प्रतियोगिताअघि मात्रै १०० मिलियन डलर (झण्डै १८ अर्ब २२ करोड नेपाली रुपैयाँ) खर्चेर टोली बलियो बनाएको छ। ८ वर्षयता पहिलोपटक सिटीले कुनै ठूलो उपाधि जित्न सकेन।
पेप ग्वार्डियोलाको टोलीले लगातार चार सिजनसम्म जित्दै आएको प्रिमियर लिग उपाधि पनि यसपटक लिभरपुललाई सुम्पनुपर्यो। च्याम्पियन्स लिगबाट अन्तिम १६ अघि नै बाहिरिनु र एफए कपको फाइनलमा क्रिस्टल प्यालेससँगको अप्रत्याशित हारले क्लबको सिजन झनै निराशाजनक बनायो।
एक समय क्लब विश्वकप सिटीको लागि ‘झन्झट’ जस्तै थियो। गत सेप्टेम्बरमा बलोन डि’ओर विजेता रोड्रीले पनि अत्यधिक खेलको दबाबका कारण खेलाडीहरू हड्तालनजिक पुगेको बताएका थिए। डिफेन्डर मानुएल आकाञ्जीले त यो प्रतियोगितालाई लिएर टोली उत्साहित नभएको प्रतिकृयासमेत दिएका थिए।
तर, अब सिटीले गत सिजनको निराशा भुल्दै नयाँ ऊर्जा र खेलाडीसहित अमेरिकाको यात्रा गर्न लागेको छ। सिटीले क्लब विश्वकप खेल्न योग्य बनाउन तिज्जानी रेजिन्डर्स, रायान चेर्की, रायान एइट–नुरी र मार्कस बेटिनेलीलाई गत हप्ता अनुबन्ध गरेको छ।
यसअघि जनवरीमा पनि क्लबले ओमार मर्मौश, अब्दुकदिर खुसेनोभ, भिक्टोर राइस, र निको गोन्जालेजमाथि १७२ मिलियन खर्च गरिसकेको थियो।
क्लाउडियो एचेभेरी पनि जनवरीमा रिभर प्लेटबाट सिटीमा फर्किएका छन्। उनी ऋणमा रिभर प्लेट पुगेका थिए। यति धेरै नयाँ खेलाडीका साथ ग्वार्डियोलाको २७ सदस्यीय टोली बनाएका छन्। ९ खेलाडीले गत ६ महिनाभन्दा कम समय सिटीमा बिताएका छन्।
पूर्व कप्तान काइल वाल्कर र कीर्तिमानी सम्झौतामा भित्रिएका ज्याक ग्रिलिश यसपटक टोलीमा परेका छैनन्। त्यसैले टोलीमा ‘पुस्ता परिवर्तन’ सुरु भएको संकेत गर्छ।
ग्वार्डियोलाले आफ्नो कोचिङ टिममा पनि ठूला परिवर्तन गरेका छन्। लिभरपुलका पूर्व सहायक प्रशिक्षक पेप लिजेन्डर्स र सिटीका पूर्व डिफेन्डर कोलो टुरे नयाँ प्रशिक्षक टिममा छन्। तीनजना पुराना प्रशिक्षक क्लबबाट बाहिरिएका छन्।
ग्वार्डियोलाले भने, ‘यो निकै गम्भीर प्रतियोगिता हो। संसारभरका समर्थकले यसलाई हेर्नेछन्। हामी जित्नकै लागि अमेरिका गइरहेका छौं।’
बुकमेकरका अनुसार सिटी क्लब विश्वकप जित्ने सम्भावनामा पेरिस सेन्ट–जर्मेन र रियल मड्रिडपछि तेस्रो स्थानमा छ। समूह चरणमा सिटीले वाइडाड कासाब्लाङ्का (मोरक्को), अल ऐन (आबुधाबी) र युभेन्ट्स (इटाली) को सामना गर्नेछ।
सिटीले मिड सिजनमा १३ खेलमा मात्र १ जित निकाल्न सकेको थियो। त्यसपछिको पुनरागमनले क्लबलाई पछिल्लो सिजन प्रिमियर लिगमा तेस्रो स्थानमा पुर्यायो। स्पेनी मिडफिल्डर रोड्रीले गत सिजनको सुरुआतमा चोटका कारण लामो समय मैदानबाहिर बताए। तर, उनी अब पुनः टोलीमा फर्किएका छन्।
उनले गत साता प्रिमियर लिगको अन्तिम खेल खेलेका थिए। सिटीको प्लेमेकर मानिने रोड्री घाइते हुँदा क्लबको प्रदर्शन निकै कमजोर भएको थियो।