काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १००औं स्थानमा पुगेको हो।
नेपालले २ जुन २०२५ मा थाइल्यान्डको मैत्रीपूर्ण खेलमा २–० को हार खेपेको थियो। थाइल्यान्डले भने एक स्थान सुधार गरेको छ। नयाँ वरीयतामा थाइल्यान्ड ४६औं स्थानमा छ।
दक्षिण एसिया (साफ) मा शीर्ष वरीयतामा रहेको भारतको समेत स्थिति खस्किएको छ। उज्बेकिस्तानसँग भएका दुवै मैत्रीपूर्ण खेलमा समान १–० को हार बेहोरेको भारतको एक स्थान खस्किएको हो। नयाँ वरीयतामा भारत ७०औं स्थानमा छ।
अर्कोतर्फ बंगलादेशले भने ५ स्थान सुधार गरेको छ। बंगलादेश नयाँ वरीयतामा १२८औं स्थानमा पुगेको छ। बंगलादेशले जुनमै भएका मैत्रीपूर्ण खेलमा जोर्डन र इन्डोनेसियालाई बराबरीमा रोकेको थियो।
पाकिस्तान १५७औं, माल्दिभ्स १६३औं र भुटान १७१औं स्थानमा यथावत् रहँदा श्रीलंका एक स्थान तल खस्किँदै १५९औं स्थानमा पुगेको छ।