काठमाडौं। बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएना इटालियन क्लब नेपोलीसँगको सम्झौतानजिक पुगेका छन्।
इटालियन मिडियाका अनुसार उनी यो साता भित्रै नेपोली पुग्नेछन्। उनले आफ्नो मेडिकल परीक्षण र नेपोलीसँगको अन्तिम औपचारिकता पूरा गर्नेछन्।
उनी बिहीबार सिधै इटालीको नेपल्स सहर पुग्ने र त्यसपछि मेडिकल परीक्षण गर्ने कार्यक्रम छ। उनी शुक्रबारभित्र सबै प्रक्रिया पूरा गरेर नेपोलीको आधिकारिक खेलाडी बन्ने अपेक्षा गरिएको छ।
बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी डि ब्रुएनाले हालै सम्पन्न विश्वकप छनोटमा वेल्सविरुद्ध ८८ औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ४–३ को जित दिलाएका थिए। उनले प्रारम्भिक दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्, जसमा एक वर्षको थप विकल्प रहनेछ।
उनी म्यानचेस्टर सिटीबाट नेपोली सर्न लागेका हुन्। सिटीमा १० वर्ष बिताउँदै उनले ६ प्रिमियर लिग उपाधि र क्लब इतिहासकै पहिलो च्याम्पियन्स लिग ट्रफी जितेका थिए।