काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय फुटबलमा भुटानजस्तो अर्को प्यारो प्रतिद्धन्दी लाओस थियो। यी दुई यस्ता टोली थिए, जसविरुद्ध नेपालले कहिल्यै हार बेहोरेको थिएन। तर, त्यो तथ्य फेरिएको छ।
न्यु लाओस नेसनल स्टेडियममा मंगलबार सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोलीले नेपालमाथि २–१ को ऐतिहासिक जित निकालेको हो।
लाओसलाई जित दिलाउन दामोथ थोङ्खामसभत र पिटर फान्थाभोन्गले गोल गरेका हुन्। अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र लाओसबीच पहिलो भेट ११ वर्षअघि एएफसी सोलिडारिटी कपमा भएको थियो।
उक्त खेल २–२ को बराबरीमा सकिएको थियो। त्यसता यी दुई टोलीबीच सन् २०२३ मा चार खेल भएका हुन्। तीमध्ये दुई खेल नेपालकै घरेलु मैदान दशरथ रंगशालामा भए। थ्री नेसन्स कपअन्तर्गत भएका थी दुई खेलमा नेपालले पाहुना टोलीलाई २–० र २–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
यो यही प्रतियोगिता थियो, जुनमा भुटानले नेपाललाई ३९ वर्षपछि १–१ को बराबरीमा रोक्दै कीर्तिमान कायम गरेको थियो। उक्त खेलमा दीपकसिंहले ९० मिनेटमा गरेको गोलले नेपाल हारबाट जोगिएको थियो।
त्यसयता भएका दुई भेट भने विश्वकप छनोटअन्तर्गतका हुन्। नेपालमा भएको पहिलो लेगमा अञ्जन विष्टले गरेको गोलसँगै नेपाल हारबाट जोगिएको थियो। पहिलो लेग १–१ को बराबरीमा सक्काए पनि नेपालले लाओसकै मैदानमा भने मनीष डाँगीले ५३औं मिनेटमा गोल गर्दै जित दिलाएका थिए।
यसपल्ट पनि उनै डाँगीले पेनाल्टीमार्फत ६३औं मिनेटमा गोल गरे। तर, त्यो पर्याप्त हुन नसक्दा त्यसको ६०३ दिनपछि लाओसले घरेलु मैदानमै नेपाललाई स्तब्ध पार्दै बदला लिन सफल भएको हो।