काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीलाई दुई सहायक प्रशिक्षक रहने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेन्द्र तामाङ र भगवती थापालाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो। यसअघि टोलीसँग प्राय: एक मात्रै सहायक प्रशिक्षक हुन्थे।
मुख्य प्रशिक्षकमा बेल्जियमका नागरिक प्याट्रिक डे विल्डेलाई नियुक्त भएसँगै तामाङले सहायक प्रशिक्षकको रूपमा टिममा रहने इच्छा देखाएका हुन्। विल्डेले तामाङलाई नै प्रतिस्थापन गरेका हुन्।
तामाङको प्रशिक्षणमा नेपाल वाफ महिला च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र फोर नेसन्स कपको फाइनलमा पुगेको थियो। तर, सबै प्रतियोगिताको निर्णायक भिड्न्तमा नेपाल पराजित हुँदा उपविजेता बनेको थियो।
यस्तै, नेपालले घरेलु टोली थाइल्यान्डसँग एक मैत्रीपूर्ण र अर्को अभ्यास खेल खेलेको थियो। ती दुवै खेलमा नेपाल पराजित भएको थियो। नेपालले यही जुन २९ देखि उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ।
एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्बेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।