काठमाडौं। क्रोएसियाले २०२६ विश्वकप छनोटको समूह 'एल' को खेलमा कमजोर जिब्राल्टारलाई ७–० ले पराजित गर्यो।
म्यारियो पासालिच र आन्ते बुडिमिरले पहिलो हाफमै दुई–दुई गोल गर्दै खेलको लय आफ्नो पक्षमा पारे। दोस्रो हाफमा आन्द्रे क्रामारिच र फ्रान्जो इवानोविचले दुई–दुई र इभान पेरिसिचले अर्को गोल गरे।
क्रोएसिया सन् २०१८ को उपविजेता र २०२२ को तेस्रो स्थानको टोली हो। त्यही समूहमा चेक गणतन्त्रले मोन्टेनेग्रोलाई २–० ले हराउँदै लगातार तेस्रो जित हात पारेको छ। एडम हलोजेक र प्याट्रिक सिचले गोल गरे।
समूह 'जे' मा बेल्जियमले म्याकेडोनियाविरुद्ध १–० को अग्रता बनाएपनि एज्जान अलियोस्कीले बराबरी गोल गरे। वेल्स समूहको शीर्ष स्थानमा रहेको छ। उसले लिचटेन्स्टाइनलाई ३–० ले हराएको छ। उत्तर म्याकेडोनिया दुई अंकले पछि छ।
४८ टोलीको विस्तारित विश्वकपमा युरोपबाट १६ टोली सहभागी हुनेछन्। १२ समूह विजेता सिधै छनोट हुनेछन् भने १२ समूहका उपविजेता र नेसन्स लिगबाट थप चार टोली प्लेअफमार्फत छनोट हुनेछन्। युरोपेली छनोटको समूह चरणका खेल नोभेम्बरसम्म चल्नेछ।