नर्वेको टोलीमा हालान्ड प्रभाव

काठमाडौं। एर्लिङ हालान्डको गोलसँगै शुक्रबार नर्वेले २५ वर्षपछि पहिलोपटक इटलीलाई ३–० ले हराउँदै २०२६ विश्वकप छनोटमा ठूलो सफलता हात पारेको छ।
हालान्डले प्लेमेकर मार्टिन ओडेगार्डले उपलब्ध गराइदिएको बललाई इटलीका गोलकिपर जियानलुइगी डोनारुम्मालाई चक्मा दिँदै पहिलो हाफ सकिन तीन मिनेटअघि जाली चुमाएका हुन्। यो नर्वेको खेलमा तेस्रो गोल थियो।
नर्वेका लागि हालान्डको यो ४२ खेलमा ४१औं गोल हो। हालान्डले यसअघि मोल्डोभाविरुद्ध ५–० र इजरायलविरुद्ध ४–२ को जितमा पनि गोल गरेका थिए। नर्वे युरोपेली समूह ‘आई’ मा अपराजित छ। शीर्ष स्थानमा रहेको नर्वेले ३ खेलबाट ९ अंक पुर्याएको छ।
अलेक्ज्यान्डर सोरलोथले ओस्लोस्थित उल्भोल स्टेडियममा एन्टोनियो नुसाको उत्कृष्ट पासमा डोनारुम्मालाई छलाउँदै १४औं मिनेटमै पहिलो गोल गरे। त्यसपछि २० वर्षीय नुसाले दुई डिफेन्डरलाई छक्याउँदै बक्सभित्रबाट दोस्रो गोल गर्दै इटलीको डिफेन्सलाई थप दबाबमा राखे।












