काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड अञ्जन विष्ट गोलको खडेरी छन्।
अञ्जनले पछिल्लोपल्ट १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गरेका थिए। योसँगै उनले नेपाली फुटबलका दुई दिग्गज हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरे।
हरिले यो कीर्तिमान राखेपछि नीराजनले सन् २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०४ दिन भइसक्दा पनि उनले आफ्नो गोल संख्या बढाउन सकेका छैनन्।
पछिल्लो पुस्ताका ‘गोल मेसिन’ मानिएका उनी पछिल्ला १२ खेलमा लगभग नियमित सुरुआती ११ मा मैदान उत्रिएका छन्। हङकङको नेसनल स्टेडियममा बिहीबार सम्पन्न घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले ८२ मिनेट मैदानमा बिताएका थिए। तर, गोल भने थप्न सकेनन्। उक्त खेल गोलविहीन बराबरीमा सकिएको थियो।
सन् २०१४ मा फिलिपिन्सविरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै अञ्जनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। तर, उनलाई पहिलो गोल गर्न भने करिब ५ वर्ष लाग्यो। कतार विश्वकप २०२२ छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध भएको खेलमा उनले गोलको खाता खोलेका हुन्। त्यो खेल उनका लागि भव्य बन्यो।
उनले तेस्रो र ६३औं मिनेटमा गोल गर्दै नेपाललाई २–० को सानदार जित दिलाएका थिए। अञ्जनले त्यसपछि २०२१ मा इराकविरुद्ध तेस्रो गोल गरेका हुन्। उनले त्यसको साढे दुई वर्षमा चाइनिज ताइपेई, इराक, कुवेत, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानविरुद्ध १० गोल गर्दै उत्कृष्ट लय देखाएका थिए।
त्यसयता उनीले पहिलाजस्तो लय कायम राख्न सकेका छैनन्।