उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा

काठमाडौं। उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनोट भएका छन्।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोलीको विस्तार गरिएको २०२६ विश्वकपमा स्थान बनाउने आठौं र नवौं टोली बनेका हुन्।
तीन आयोजक राष्ट्रले स्वतः आफ्नो स्थान बनाइसकेका छन्। यसअघि जापान, न्यूजिल्यान्ड, इरान र अर्जेन्टिना पनि छनोट भइसकेका थिए। उज्बेकिस्तानले संयुक्त अरब एमिरेट्स (युएई)सँग गोलरहित बराबरी खेल्दा जोर्डनले ओमानमाथि ३–० को जित निकालेको हो।
विश्व वरीयतामा ५७औं स्थानमा रहेको उज्बेकिस्तानको जनसंख्या ३६ मिलियन छ। सोभियत संघबाट छुट्टिएपछि सन् १९९२ मा पहिलोपटक स्वतन्त्र राष्ट्रको रूपमा खेल खेलेको उज्बेकिस्तान दुई वर्षपछि फिफाको सदस्य बनेको हो।
उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो। त्यो बेला बहराइनसँग प्लेअफ खेलिरहेको अवस्थामा पहिलो लेगमा १–० ले जितेको थियो। तर, रेफ्रीको गल्तीका कारण फिफाले खेल पुनः खेलाउन आदेश दियो र दोस्रो लेगमा उज्बेकिस्तान बराबरीमा रोकिएपछि गोलअन्तरको आधारमा बाहिरियो।
तर, उज्बेकिस्तानले सन् १९९६ देखि हालसम्म सबै एएफसी एसियन कप खेलमा सहभागिता जनाएको छ। सन् २००४ देखि प्रत्येक पटक नकआउट चरणसम्म पुगेको छ। उज्बेकिस्तान सन् २०११ मा सेमिफाइनल र गत संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।
जोर्डनले एसियन कप २०२३ को फाइनल खेलेको थियो। अहिले विश्व वरीयतामा ६२औं स्थानमा छ। जोर्डनले पहिलो पटक सन् १९८६ मा विश्वकप छनोटमा भाग लिएको थिए र यो सातौं पटक हो।
सन् २०१४ मा जोर्डनले उरुग्वेविरुद्ध इन्टरकन्टिनेन्टल प्लेअफ खेलेको थियो। तर, त्यो हार जोर्डनको अहिलेसम्मको सबैभन्दा नजिकको प्रयास थियो। अब यी दुई टोलीले २०२६ मा इतिहास रच्दै आफ्नो पहिलो विश्वकप खेल्नेछन्।















