काठमाडौं। लामिन यमलले बिहीबार भएको युएफा नेसन्स लिग सेमिफाइनलमा दुई गोल गर्दै फ्रान्सविरुद्ध स्पेनलाई ५–४ को ऐतिहासिक जित दिलाए। योसँगै उनले बलोन डि’ओरका प्रतिस्पर्धीहरूमध्ये आफूलाई अग्रपंक्तिमा उभ्याएका छन्।
१७ वर्षीय यमलले फ्रेन्च स्टारहरू डेजिरे डोउए र उस्मान डेम्बेलेलाई ओझेलमा पार्दै डिडिएर डेस्चाम्पको थकित टोलीविरुद्ध चम्किलो प्रदर्शन गरे। यो जितसँगै स्पेनले आइतबार पोर्चुगलसँग फाइनल खेल्नेछ। पोर्चुगलले बुधबार घरेलु टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फाइनलको टिकट कटाएको हो।
यो खेल युवा स्टारबीचको भिडन्तका रूपमा प्रचारित गरिएको थियो। तर, पेरिस सेन्ट-जर्मेन (पिएसजी) का खेलाडी डोउए र डेम्बेले शनिबारको च्याम्पियन्स लिग फाइनलपछि थकाइले ग्रसित देखिए।
नेसन्स लिगको छोटो इतिहासमै यो सबैभन्दा धेरै गोल भएको खेल बन्यो। यद्यपि, फ्रान्सका चारमध्ये तीन गोल स्पेनले ५–१ को अग्रता लिएपछि मात्र आएको हो। त्यतिखेर स्पेनिस खेलाडीहरूले खेल सकियो भन्ने सोचेर सहज खेल्न थालेका थिए।
फ्रान्सका किलियन एमबाप्पेले पेनाल्टीमार्फत एउटा सान्त्वना गोल गरे। त्यसपछि वैकल्पिक खेलाडी रायन चेरकीले आफ्नो डेब्युमा एक गोल गरे।
ड्यानियल विवियनको आत्मघाती गोलपछि चेरकीले अर्का वैकल्पिक खेलाडी रान्डाल कोलो मुआनीलाई स्टपेज टाइममा गोल गराउन सहयोग गरे। यसले फ्रान्सलाई लगभग असम्भव जस्तो देखिएको पुनरागमन नजिक पुर्यायो।
यमल भन्छन्, ‘यो एक सानदार खेल थियो। अन्त्यमा खेल अलिकति टाइट भयो। तर, हामीले राम्रो खेलेका थियौं र जितको हकदार थियौं।’ २२औं मिनेटमा यमलले मिकेल ओयार्जाबाललाई पास दिए, जसले दुई डिफेन्डरलाई छिचोलेर निको विलियम्सलाई पास दिए। उनले जाली च्यातिने गरी पहिलो गोल गरे।
त्यसको तीन मिनेटपछि मिकेल मेरिनोले ओयार्जाबालसँग ‘वान–टु’ खेल्दै दोस्रो गोल थपे। थियो हेर्नान्डेजको प्रहार बारमा लागेको थियो भने डोउए, एम्बाप्पे र डेम्बेलेको प्रहारलाई गोलकिपर उनाइ सिमोनले रोके।
रियल मड्रिडका डिन हुसनले उत्कृष्ट फ्रि–किक संयोजनपछि गोल गरेजस्तो देखिएको थियो। तर, अफसाइडका कारण त्यो रद्द भयो। यो उनको स्पेनका लागि तेस्रो खेल थियो।
५४औं मिनेटमा यमलमाथि एड्रियन राबियोटले गलत ‘ट्याकल’ गरेपछि पेनाल्टी दिइयो। यमलले नै त्यो पेनाल्टी लिएर स्कोर ३–० बनाए। त्यसको एक मिनेटमै पेड्रीले विलियम्सको पास लिएर सुन्दर फिनि; गर्दै गोल गरे।
स्पेनका पेड्रो पोर्रोको फाउलपछि एमबाप्पेले पेनाल्टीबाट फ्रान्सको पहिलो गोल फर्काए। तर, यमलले त्यसको तुरुन्तै जवाफ दिँदै पाँचौं गोल थपे।
स्पेनले खेल जितेपनि अन्त्यतिर फ्रान्सले दिएको चुनौतीले खेललाई अझ रोमाञ्चक बनायो। अब स्पेनले आइतबार फाइनलमा पोर्चुगललाई चनौती प्रस्तुत गर्नेछ।