एन्सेलोटीको खराब डेब्यु

काठमाडौं। ब्राजिलले नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको डेब्यु खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको छ।
बिहीबार ग्वायाक्विलमा सम्पन्न दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गतको खेलमा दुवै टिमले ठूला स्कोरिङ अवसर सिर्जना गर्न सकेनन्। र, उनको डेब्यु खराब रह्यो।
यो बराबरीपछि इक्वेडरले २४ अंकसहित तालिकाको दोस्रो स्थान सुरक्षित राख्दै सिधा विश्वकप स्थानतर्फ अघि बढेको छ। ब्राजिल २२ अंकसहित चौथो स्थानमा छ। दक्षिण अमेरिकाबाट शीर्ष ६ टोली सन् २०२६ को विश्वकपका लागि स्वतः छनोट हुनेछन्।
विश्वकप विजेता अर्जेन्टिनाले टिकट पहिले नै काटिसकेको छ। डोरिभाल जुनियरलाई अर्जेन्टिनासँगको ४–० को हारपछि हटाइएपछि जिम्मेवारी पाएका ६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले अघिल्ला टोली संरचनामा ठूला परिवर्तन गरे।
उनले भिनिसियस जुनियरलाई ब्राजिलको ‘नम्बर १०’ दिए। क्यासेमिरो र रिचार्लिसनलाई फेरि सुरुआती टोलीमा फर्काए। रक्षापंक्तिमा नयाँ खेलाडी एलेक्सलाई डेब्यु गराए र निलम्बनमा परेका राफिन्हाको स्थानमा १६ वर्षीय एस्टेभाओलाई बायाँ विङमा खेलाए।
इक्वेडरले आफ्नो पछिल्ला १४ घरेलु खेलमा अपराजित रहने शृङ्खला कायम राखेको छ।
खेलपछि क्यासेमिरो भन्छन्,‘इक्वेडर बलियो टिम हो। उनीहरू राम्रो खेलिरहेका छन्। हामी बिस्तारै सुधार गर्नेछौं। आज हाम्रो रक्षात्मक संरचना निकै मजबुत थियो। यस्तो महान प्रशिक्षकको छनोटमा पर्नु खुसीको कुरा हो।’
ब्राजिलले अर्को साता पराग्वेविरुद्ध जित निकाल्न सके र सातौं स्थानको टिमसँगको दूरी ६ अंकभन्दा बढी भयो भने उस्वतः विश्वकपमा स्थान बनाउने छ।
भिनिसियस भन्छन्, ‘एन्सेलोटीले अझै आफ्नो पूर्ण योजना देखाउनु भएको छैन। तर, हामी तयारीमा छौं। विश्वकप नजिकिँदैछ र हामीलाई एकताबद्ध भएर अन्तिम चरणमा राम्रो प्रदर्शन गर्न आवश्यक छ।’















