काठमाडौं। सिमोन इन्जाघी बुधबार साउदी क्लब अल–हिलालको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। मंगलबार मात्र उनले इन्टर मिलानको जिम्मेवारीबाट राजीनामा दिएका थिए।
योसँगै उनी क्लब विश्वकप सुरु हुन दुई साताअघि नै साउदी अरबको सबैभन्दा सफल क्लबमा नियुक्त भएका हुन्। इन्जाघीले दुई वर्षको सम्झौतामा गरेका छन्। उनलाई वार्षिक २० मिलियन युरो (झन्डै २३ मिलियन डलर) भन्दा बढी तलब दिइनेछ।
गत शनिबार पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग फाइनलमा इन्टर ५–० ले पराजित भएको थियो। यो युरोपेली फाइनल इतिहासकै सबैभन्दा ठूलो अन्तरको हार हो।
४९ वर्षीय इन्जाघीले गत वर्ष इन्टरलाई सिरी ए उपाधि जिताएका थिए। सन् २०२३ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीसँग पराजित हुँदा पनि उनी नै प्रशिक्षक थिए।
इन्टरमा उनी चार वर्ष प्रशिक्षकको रूपमा रहे। अल–हिलालले क्लब विश्वकपको आफ्नो पहिलो खेल जुन १८ मा रियल मड्रिडसँग खेल्नेछ। खेल मियामी गार्डेन्सको हार्ड रक स्टेडियममा हुनेछ।