काठमाडौं। इङ्ग्लिस क्लब चेल्सी बुधबार पोल्यान्डको व्रोक्लावमा हुने कन्फरेन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल बेटिसविरुद्ध जित निकाल्दै युइएफएका सबै चारवटै क्लब प्रतियोगिताको उपाधि हात पार्ने पहिलो टोली बन्ने लक्ष्यमा छ।
चेल्सीले यसअघि च्याम्पियन्स लिग (२०१२ र २०२१), युरोपा लिग२०१३ र २०१९) तथा अहिले बन्द भइसकेको कप विनर्स कप (१९७१ र १९९८) जितिसकेको छ।
कन्फरेन्स लिग भने युरोपको तेस्रो स्तरको क्लब प्रतियोगिता हो। यो सन् २०२१ मा सुरु भएको थियो। अहिलेसम्म रोमा (२०२२), वेस्ट ह्याम (२०२३) र ओलिम्पियाकोस (२०२४) ले यस प्रतियोगिताको उपाधि जितेका छन्।
यस पटक चेल्सी कन्फरेन्स लिगमा सहभागी हुनुको कारण भने अघिल्लो सिजन प्रिमियर लिगमा छैटौं स्थानमा सीमित हुनु हो। प्रतियोगिताको सबैभन्दा ठूलो र चर्चित टिममध्ये एक चेल्सीले समूह चरणका सबै ६ खेल जित्दै एफसी कोपेनहेगन, लेगिया बार्सा र डुर्गार्डेनलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो।
चेल्सीलाई स्पेनी क्लब रियल बेटिस जारी प्रतियोगिताकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी साबित हुनसक्छ। यस सिजन ला लिगामा छैटौं स्थानमा रहेको बेटिसमा रियल मड्रिडका पूर्वमिडफिल्डर इस्को, अर्जेन्टिनी खेलाडी जिओभानी लो सेलोसो र म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका एन्टोनी जस्ता चर्चित अनुहार छन्।
बेटिसको प्रशिक्षक पनि म्यानचेस्टर सिटी र रियल मड्रिडका पूर्वप्रशिक्षक म्यानुएल पेलेग्रीनी हुन्। क्लबले सन् १९३० को दशकमा स्पेनिस लिग जितेको थियो भने तीनपटक कोपा डेल रे जितेको इतिहास छ।
पछिल्लोपटक सन् २०२२ मा बेटिसले कोपा डेल रे जितेको थियो। तर, यो क्लबको पहिलो युरोपेली फाइनल हो र उपाधिको सपना साकार पार्ने ठूलो अवसर पनि हो।
यो सिजन चेल्सीले आफ्नो मुख्य लक्ष्य भने च्याम्पियन्स लिगको छनोट बनाएको थियो। प्रिमियर लिगमा चौथो स्थानमा रहँदै चेल्सीले यो लक्ष्य पूरा गरिसकेको छ। अब कन्फरेन्स लिगको उपाधि भने सिजनको बोनस उपलब्धि हुने छ।
युइएफएका अनुसार २००१/०२ सिजनदेखि हालसम्म युरोपियन प्रतियोगिताको फाइनलमा पुगेका स्पेनी क्लबले २३ मध्ये सबै उपाधि जितेका छन्। यसबीचमा स्पेनी क्लबबीचको चार फाइनल पनि समावेश छन्।