काठमाडौं। इटालियन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुसियानो स्पालेटीले आगामी विश्वकप छनोट खेलका लागि फ्रान्चेस्को एचेर्बीलाई दुई वर्षपछि टोलीमा फर्काएका छन्।
उनीसँगै रिक्कार्डो ओर्सोलिनी, डाभिडे जाप्पाकोस्ता र माटेयो गाब्बियाले पनि टोलीमा स्थान पाएका छन्। इटालीले जुन ६ मा नर्वेविरुद्ध र जुन ९ मा मोल्डोवाविरुद्ध खेल्दै छनोट अभियान सुरु गर्दैछ।
समूह ‘आई’मा रहेको इटालीले नर्वे, मोल्डोभा, इजरायल र इस्टोनियासँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्।
स्पालेटीले म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डको सामना गर्न इन्टर मिलानका अनुभवी डिफेन्डर एचेर्बीलाई पुनः बोलाएका हुन्। उनले २०२३ को च्याम्पियन्स लिग फाइनल र पछिल्लो सिजनको इन्टर–सिटी भिडन्तमा हाल्यान्डलाई प्रभावहीन बनाएका थिए। एचेर्बीले अक्टोबर २०२३ मा युक्रेनविरुद्धको खेलपछि राष्ट्रिय टोलीमा स्थान पाएका थिएनन्। अहिले उनी ३७ वर्षका भइसकेका छन्।
बोलोन्याका फरवार्ड रिक्कार्डो ओर्सोलिनी पनि टोलीमा फर्किएका छन्। उनले यस सिजन ४० खेलमा १७ गोल र पाँच असिस्ट गर्दै कोपा इटालिया उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनी युरो २०२४ अघिका मैत्रीपूर्ण खेलपछि पहिलोपटक टोलीमा परेका हुन्।
प्रशिक्षकले अनुभवी डाभिडे जाप्पाकोस्तालाई पनि टोलीमा समेटेका छन्। उनले सन् २०१८ पछि राष्ट्रिय टोलीका लागि खेल्न पाएका थिएनन्। त्यस्तै, मिलानका डिफेन्डर माटेयो गाब्बिया पनि डेब्युको पर्खाइमा छन्। उनी पहिलोपटक सन् २०२४ को अक्टोबरमा टोलीमा परेका थिए। तर, हालसम्म मैदान उत्रिएका छैनन्।
हेलास भेरोनाका युवा डिफेन्डर डिएगो कोप्पोलालाई भने पहिलोपटक सिनियर टोलीमा बोलाइएको हो। इन्टर मिलानका ६ खेलाडी च्याम्पियन्स लिगको मे ३१ को फाइनलमा व्यस्त हुनेछन्। त्यसैले यी खेलाडी जुन २ मा मात्र राष्ट्रिय टोली आउने छन्।