काठमाडौं। थाइल्यान्डसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली बुधबार दिउँसो १:३० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका छ। तर, उक्त तालिकामा २१ खेलाडी मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार व्यावसायिक फुटबलका लागि विदेशी भूमिमा रहेका फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल सिधै थाइल्यान्डमा टोलीसँग जोडिने भएका छन्।
साम्बा २०८० माघमा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब अभान्ट ग्वेन्ग्याम्प मा अनुबन्ध भएकी थिइन्। दुई सिजन खेल्दा उनको क्लब अघिल्लो संस्करण २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो।
यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो। ग्वेन्ग्याम्प नौ अंकसहित पुछारमा रह्यो। साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश छ। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन।
यता, स्टाइकर रेखा पौडेल पनि व्यावसायिक फुटबल खेल्न विदेशमा छिन्। रेखाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी कन्ट्री क्लबबाट फुटबल खेल्दै आएकी छन्।
नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग मे ३० मा पहिलो र जुन २ मा दोस्रो खेल खेल्नेछ। अन्तिम खेलले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने छ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको तयारीस्वरूप खेल्न लागेको हो।