काठमाडौं। मार्चमा युभेन्ट्सलाई च्याम्पियन्स लिगमा पुर्याउने लक्ष्यसाथ नियुक्त भएका प्रशिक्षक इगोर टुडोरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्।
आइतबार सिरी ‘ए’ को अन्तिम खेलमा युभेन्ट्सले भेनेजियाविरुद्ध ३–२ को कठिन जित दर्ता गर्दै चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गर्यो।
‘अद्भुत भावना, अविश्वसनीय एड्रिनालिन अनुभव भयो,’ टुडोरले लामो सार्स फेर्दै भने। युभेन्ट्सले पाँचौं स्थानको रोमाभन्दा मात्र एक अंक बढी जोड्यो। रोमाले टोरिनोविरुद्ध २–० को जित दर्ता गर्दै युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गर्यो।
रेलगेसन भइसकेको भेनेजियाले खेलको दोस्रो मिनेटमै डेनियल फिलाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, केनान यिल्दिज र रान्डल कोलो मुआनीले ३१औं मिनेटभित्रै दुई गोल फर्काउँदै युभेन्ट्सलाई अग्रता दिलाए।
दोस्रो हाफमा रिजेसियानो ह्याप्सले बराबरी गोल गरे पनि मानुएल लोकेटेलीले पेनाल्टीमार्फत युभेन्ट्सलाई पुन: अग्रता दिलाए। ‘सिजनमा केही गल्तीहरू भए। तर, च्याम्पियन्स लिग हाम्रो लक्ष्य थियो, जुन हामीले पूरा गर्न सफल भयौं,’ लोकेटेलीले भने।
टुडोरले बर्खास्त प्रशिक्षक थियागो मोट्टाको ठाउँमा कार्यभार सम्हालेका थिए। उनले सिजनको अन्त्यसम्मको अनुबन्ध पाएका थिए। च्याम्पियन्स लिग पुगिएमा उनको अनुबन्ध स्वतः नवीकरण हुने चर्चा भए पनि युभेन्ट्सले अब नापोलीलाई उपाधि दिलाएका प्रशिक्षक एन्टोनियो कोन्टेलाई पुन: ल्याउन चासो देखाएको छ।
‘क्लब विश्वकपको तयारी अघि नै निर्णय गर्नुपर्नेछ,’ टुडोरले भने।