काठमाडौं। इङ्लिस प्रिमियर लिगको नाटकीय अन्तिम दिन म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुनिश्चित गरेका छन्।
यसैबीच, एस्टन भिल्ला र नटिङ्घम फरेस्ट भने ठूलो घाटा बेहोर्न परेको छ। यी दुवै टोली शीर्ष पाँचमा पुग्न असफल भए।
भिल्लालाई विशेषतः अन्याय महसुस भएको हुनुपर्छ। म्यानचेस्टर युनाइटेडविरुद्ध खेलमा भिल्लाले गरेको एक गोल रद्द गरिएको थियो। त्यसको केही क्षणमै गोल खाएपछि खेलमा पछि पर्यो र अन्ततः २–० को हार बेहोर्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान गुमायो।
उक्त खेलमा बराबरी भए पनि भिल्लालाई च्याम्पियन्स लिगमा पुग्न पर्याप्त हुने थियो। त्यसअघि न्यूक्यासलले एभर्टनसँग घरमै १–० को हार बेहोरेको थियो।
चेल्सीले नटिङ्घम फरेस्टमाथि १–० को जित दर्ता गर्दै दुई वर्षपछि च्याम्पियन्स लिगमा फर्किने बाटो सुनिश्चित गर्यो।
सिटीले फुलह्याममाथि २–० को जित निकाल्दै तेस्रो स्थानमा रहेर सिजन समाप्त गर्यो। यस सिजनको उपविजेता आर्सेनल रह्यो भने लिभरपुलले उपाधि जित्यो।