ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी

पथरीशनिश्चरे, मोरङ। ब्रदर्श ११ झापाले प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिता आइतबार ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।
कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रतियोगिता दुवै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।
झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।
इटहरीका लागि रिक्की भण्डारीले पाँच विकेट लिए। उज्ज्वल श्रेष्ठले दुई विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान एक विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। नीरज शाह र नीरज पाठकले समान दुई विकेट लिएका थिए। आवास खनालले एक विकेट हात पारे। सुपर ओभरमा झापाका विवेक पौडेलले आठ र नीरज पाठकले सात रन बनाए।
ग्रीन सिटीका निमा तामाङले सात रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुनेछ। दोस्रो खेल ढुकुर पानी क्रिकेट क्लब झापा र दुर्गा पुरी क्रिकेट क्लब मोरङबीच हुनेछ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।
















