काठमाडौं। अमेरिकामा अर्को महिना हुने क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना उच्च छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अनौठो तरिकाले खुला गरिएको स्थानान्तरण (ट्रान्सफर) विन्डोको कारणले यस्तो सम्भावना रहेको बताएका हुन्।
रोनाल्डोको साउदी क्लब अल–नासर क्लब वर्ल्ड कपको लागि छनोट हुन सकेन। तर, इन्फान्टिनोले पोर्चुगलका स्टार फरवार्ड १४ जुनबाट सुरु हुने यो प्रतियोगितामा सहभागी ३२ क्लबमध्ये कुनै एकबाट सहभागिता जनाउन सक्ने संकेत गरेका छन्।
‘क्रिस्टियानो रोनाल्डो क्लब वर्ल्ड कपमा खेल्न सक्छन्। केही क्लबहरूसँग छलफल भइरहेको छ। यदि कुनै क्लबले रोनाल्डोलाई अनुबन्ध गर्न चाहन्छ भने खुला छ। प्रतियोगिताका लागि केही हप्ता बाँकी छ, रमाइलो हुनेछ,’ उनले भने।
शनिबारसम्म रोनाल्डोले इन्फान्टिनोको यो अड्कलबाजीमा कुनै प्रतिक्रिया दिएका छैनन्। उनले आफ्नो इन्स्टाग्राम (६५४ मिलियन फलोअर्स) र एक्स (११५ मिलियन फलोअर्स) मा एउटा विज्ञापन पोस्ट गरेका छन्।
फिफा अध्यक्षले कुनै खेलाडीको ट्रान्सफरबारे यति खुलेर बोल्नु अस्वाभाविक मानिन्छ। यद्यपि, इन्फान्टिनोको साउदी अरबसँग नजिकको सम्बन्ध छ। हुन त साउदी २०३४ विश्वकपको आयोजक हो। रोनाल्डोको क्लब अल–नासर साउदी सरकारको सार्वभौम लगानी कोषद्वारा नियन्त्रित छ।
अल–नासर साउदी अरबका चार प्रमुख क्लबमध्ये एक हो जसको स्वामित्व कोषसँग छ। यस कोषका अध्यक्ष हुन् साउदी युवराज मोहम्मद बिन सलमान। उनकै निमन्त्रणामा इन्फान्टिनो भर्खरै अमेरिका–साउदी भेटघाटमा सहभागी भएका थिए।