काठमाडौं। आइपिएलमा लिग चरणका चार खेल मात्र बाँकी छन्। तर, कुन टोली शीर्ष दुईमा पर्ने हुन्न भन्ने अझै निर्णय भएको छैन।
शनिबार दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गर्दै शीर्ष दुईमा पर्ने आशा झिनो बनाएको छ। आइतबार चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सको काम पनि बिगार्न सक्छ।
शनिबार जयपुरमा पहिले ब्याटिङ गर्दै पञ्जाबले आठ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। प्लेअफबाट पहिले नै बाहिरिसकेको दिल्ली क्यापिटल्सले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
पञ्जाबले १३ खेलमा चौथो हार बेहोरेको छ। टोली आठ जित र एक बराबरीबाट १७ अंकसहित दोस्रो स्थानमा यथावत् छ। यदि पञ्जाब अब शीर्ष दुईमा पर्न चाहन्छ भने मुम्बईविरुद्धको अन्तिम खेल जित्नुपर्नेछ।
दिल्ली क्यापिटल्सले १४ खेलमा सातौं जित हासिल गर्दै १५ अंकका साथ पाँचौं स्थानमा सिजन समाप्त गर्यो। दिल्लीले सिजनको सुरुआत लगातार पाँच खेल जितेर गरेको थियो। तर, ६ खेल हारेपछि टोली प्लेअफ दौडमा पछि पर्यो। एउटा खेल पनि अनिर्णीत रह्यो।