काठमाडौं। रियल मड्रिडले शनिबार ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोटी र मिडफिल्डर लुका मोड्रिचलाई बिदाई दिएको छ। खेलमा केलियन एम्बाप्पेले दुई गोल गरे।
एन्सेलोटी क्लबबाट बिदा भएर अब ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने छन्। मोड्रिचले आगामी महिना अमेरिकामा आयोजना हुने क्लब विश्वकपपछि क्लब छाड्ने पक्का भएको छ।
ला लिगाको उपाधि बार्सिलोनालाई सुम्पिसकेपछि पनि सान्टियागो बर्नबेउको वातावरण भावुक थियो। घरेलु समर्थकहरूले आफ्ना प्रिय खेलाडी र प्रशिक्षकलाई बिदाई दिने मनसायले खेललाई विशेष बनाए।
खेल सुरु हुनुअघि रंगशालामा एन्सेलोटी र मोड्रिचको ठूला पोस्टर देखाइएको थियो। क्रोएसियाली मिडफिल्डर मोड्रिचको नाम घोषणा हुँदा स्टेडियममा ठूलो ताली बजाइएको थियो।
१०औं मिनेटमा दर्शकहरू उभिएर मोड्रिच, मोड्रिच भन्दै नाराबाजी गरे। ८७औं मिनेटमा उनी मैदानबाट बाहिरिँदा दुवै टोलीका खेलाडीले उनलाई गार्ड अफ अनर दिए। स्पेनी खेलाडी लुकास भास्क्वेजले पनि सिजनको अन्त्यमा क्लब छाड्ने सम्भावना छ। उनलाई पनि दोस्रो हाफमा मैदान छाड्दा उभिएर ताली बजाइयो।
खेलको पहिलो हाफमा एम्बाप्पेले सोसिडाडको डिफेन्सलाई पटक–पटक झस्काइरहे। ३७औं मिनेटमा भिएआर जाँचपछि पाब्लो मारिनको ह्याण्डबलका कारण रियललाई पेनाल्टी दिइयो।
एम्बाप्पेको पहिलो प्रहार गोलकिपर उनाई मारेरोले रोके। तर, तुरुन्तै उनले रिबाउन्डमा गोल गर्दै आफ्नो ३०औं ला लिगा गोल पूरा गरे। दोस्रो हाफमा एन्सेलोटीले भिनिसियस जुनियरलाई मैदानमा उतारे। उनले दिएको सानदार पासलाई एम्बाप्पेले टाइट एंगलबाट दोस्रो गोलमा परिणत गरे।
यससँगै एम्बाप्पे ला लिगाको शीर्ष स्कोरर (पिचिची) बन्ने लगभग निश्चित भए। बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले अब एम्बाप्पेसँग बराबरी गर्न आइतबार एथ्लेटिक बिल्बाओविरुद्ध ६ गोल गर्नुपर्नेछ।
एम्बाप्पेले आफ्नो पहिलो ला लिगा सिजनमै ३० गोल गर्दै इतिहास रचेका छन्। उनी प्रुडेन (१९४०–४१), रोमारियो (१९९३–९४) र रोनाल्डो (१९९६–९७) पछि डेब्यू सिजनमै ३० गोल गर्ने चौथो खेलाडी बने।
रियल ८४ अंकसहित तालिकाको दोस्रो स्थानमा रह्यो। शीर्षस्थानमा रहेको बार्सिलोना एक खेल कम खेलेर एक अंकले अगाडि छ।
रियलको पूर्वखेलाडी टाकेफुसा कुबो सोसिडाडका उत्कृष्ट खेलाडी थिए। तर, उनको ड्रिब्लिङले निर्णायक अवसर सिर्जना गर्न सकेन। सोसिडाड ४६ अंकसहित ११औं स्थानमा रह्यो।
सोसिडाडका प्रशिक्षक इमानोल अल्ग्वासिलका लागि पनि यो अन्तिम खेल थियो। उनले सात वर्षे कार्यकालमा कोपा डेल रे जिताउनुका साथै क्लबलाई लगातार पाँच सिजन युरोपियन प्रतियोगितामा पुर्याएका थिए।