काठमाडौं। ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सले शनिबार आफ्नो ५३औं वार्षिकोत्सव मनाएको छ। ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरेर क्लबले आफ्नो ५३ वर्षको यात्रालाई मनाएको हो।
वार्षिकोत्सवको अवसरमा क्लबले नागार्जुन एकेडेमीसँग दुई खेलाडीको छात्रवृत्तिका लागि औपचारिक सम्झौता गरेको छ। सम्झौता अनुसार नागार्जुन एकेडेमीले क्लबका दुई खेलाडीलाई ५० प्रतिशत छुटमा छात्रवृत्ति प्रदान गर्नेछ।
कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष विश्वासविक्रम शाहले फ्रेन्ड्सले अहिले युवा परियोजनामा केन्द्रित भएर अघि बढिरहेको बताएका थिए।
‘क्लब अहिले ग्रास रुटको विकास र युवा परियोजनामा केन्द्रित छ। क्लबले उत्पादन गरेका खेलाडीबाट सिनियर टिम बनाउने गरी काम गरिरहेका छौं,’ कार्यक्रममा उनले भने।
नेतृत्वमा आएपछि क्लबको गतिविधिलाई तीव्रता दिएका अध्यक्ष विश्वासले ग्रास रुट र उमेर समूहको फुटबलबाट सिनियर टिमको निर्माण गर्ने सोच राखेको बताए।
पछिल्लो एन्फा यु–१६ लिगमा फ्रेन्ड्स क्लब तेस्रो बनेको थियो।
कार्यक्रममा बिशेष अतिथिको रूपमा रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले समयमै लिग आयोजना गर्ने विषयमा गम्भीर बन्न एन्फा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले नेपाली फुटबलमा सरकारले लगानी बढाउनुपर्ने बताएका थिए।
कार्यक्रममा ललितपुर जिल्लाका सांसद तथा प्रमुख अतिथी उदयशम्शेर राणा, एन्फा पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित विभिन्न क्लब तथा जिल्लाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।