वालिङ। भूपू इङ्लिस बोर्डिङ स्कुल, चापकोटले नवौं अर्हान्त स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
वालिङ युनाइटेड क्लबको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा चापकोटले बालविद्या बोर्डिङ स्कुल, वालिङलाई २–१ ले पराजित गरेको हो।
चापकोटको जितमा गोपाल विके र स्वीकार डोटेलले गोल गरे। बालविद्याका रिवाज रानाले गरेको गोल सान्त्वना रह्यो।
खेलको तेस्रो मिनेटमै गोपालको गोलमार्फत चापकोटले सुरुआती अग्रता लिएको थियो। १२औं मिनेटमा स्वीकारले अग्रता दोब्बर बनाए।
दोस्रो हाफको नवौं मिनेटमा रिवाजले गोल गर्दै बालविद्यालाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन्।
चापकोटले दोस्रो सेमिफाइनलमा पायोनियर्स एजुकेसन एकेडेमीलाई २–०ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा पुर्याउन पनि गोपाल र स्वीकारले नै गोल गरेका थिए।
बालविद्याले भने पहिलो सेमिफाइनलमा भूपू सैनिक वालिङलाई ४–२ ले पराजित गर्दै चापकोटसँगको भेट पक्का गरेको थियो।
प्रतियोगिताको उच्च गोलकर्ता चापकोटका गोपाल घोषित भए। यस्तै, बालविद्याका रिजवन उत्कृष्ट फरवार्ड, बालविद्याकै मोहम्मद सजिद मिया उत्कृष्ट मिडफिल्डर, सुप्रिम परियार उत्कृष्ट डिफेन्डर, शौरभ कुमाल र उत्कृष्ट गोलकिपर र सुलभ शाही उत्कृष्ट खेलाडी घोषित भए।