च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे
-1748058992.webp&w=3840&q=75)
काठमाडौं। नेपोलीले शुक्रबार अन्तिम चरणमा काग्लियारीलाई २–० ले पराजित गर्दै सिरी ‘ए’ को उपाधि जितेको छ। यससँगै सन् २०२३ को स्कुडेटो सम्झना फेरि जीवित बनेको छ। नेपोलीले डिफेन्डिङ च्याम्पियन इन्टर मिलानलाई एक अंकले पछि पार्यो।
तर, सिजनको सुरुआतमा यस्तो हुने संकेत देखिएको थिएन। एन्टोनियो कोन्टेले नेपोलीको प्रशिक्षकको रुपमा आफ्नो पहिलो लिग खेलमा हेल्लास भेरोनासँग ३–० को लज्जास्पद हार बेहोरे। खेलपछि उनले भनेका थिए,‘म लज्जित छु। टिम घाममा हिउँ जस्तै पग्लियो।’
त्यसबेला स्पष्ट देखिन्थ्यो– यो टोलीलाई कोन्टेले नयाँ जीवन दिनुपर्ने थियो। पछिल्ला १३ महिनामा नेपोलीले पाँचौं प्रशिक्षक नियुक्त गरेको थियो। सन् २०२३ मा उपाधि जितेको टिमले सिरी ‘ए’ इतिहासकै एकदमै खराब ‘टाइटल डिफेन्स’ गर्यो। टोलीले १०औं स्थानमा रहँदै सिजन समाप्त गर्यो।
कोन्टे सिरी ‘ए’ उपाधि जित्ने कुनै नौलो नाम होइनन्। उनले युभेन्ट्सको सन् २०११ देखि सुरु भएको प्रभुत्व स्थापनामा भूमिका खेले। इन्टर मिलानलाई एक दशकपछि सन् २०२१ मा उपाधि जिताए। अब नेपोलीलाई पुनः च्याम्पियन बनाएका छन्।
उनले युभेन्ट्सबाट तीन सिजनमा तीन उपाधि जिते। त्यसबीच उनले सन् २०१७ मा चेल्सीलाई इङ्लिस प्रिमियर लिग जिताएका थिए। सन् २०२४ को समरमा उनले नेपोलीको जिम्मेवारी सम्हालेका थिए। जुन बेला टिम समस्यामा थियो। उनले आफ्नो स्पष्ट रणनीति र साना कुरामा ध्यान दिने शैलीले टिम रूपान्तरण गरे।
सुपरस्टार बाहिरिए, नयाँ टाइटान्स भित्रिए
स्पालेट्टीको नेपोलीमा रहेका सुपरस्टारहरू अहिले छैनन्। विक्टर ओसिम्हेन, क्वाराडोना नामले चिनिएका ख्विचा क्वारात्स्खेलिया र डिफेन्सका पर्खाल मानिने किम मिन–जाए सबै बाहिरिए।
अहिले टोलीमा पहिलेका पाँच मात्र नियमित खेलाडी थिए। ती भनेको गोलरक्षक एलेक्स मेरेट, कप्तान जियोभानी दी लोरेन्जो, डिफेन्डर आमिर रर्हमानी र मिडफिल्डरद्वय लोबोट्का र फ्राङ्क आङ्गुइसा हुन्। तर, कोन्टेले ल्याएका खेलाडीले सबै कमी पूर्ति गरिदिए।
इन्टर मिलानमा कोन्टेसँग उपाधि जितेका रोमेलु लुकाकु फेरि उनको साथ नेपोलीमा फर्किए। लुकाकुले लिगमा १४ गोल र १० एसिस्ट दिए। सबैभन्दा ठूलो कुरा भनेको स्कट म्याकटोमिने बने। उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अगस्टमा आएका थिए। उनका साथीहरू उनलाई विशेष व्यक्ति ठान्छन्।
म्याकटोमिनेले लिगमा १२ गोल गर्दै सिजनको अन्त्यमा ‘प्लेयर अफ द’ सिजनको उपाधि जिते। काग्लियारीविरुद्ध निर्णायक खेलमा उनी र लुकाकुले नै गोल गरेका थिए।
एक महिना अगाडि मात्र इन्टरले ट्रिपल उपाधिको सपना देखिरहेको थियो। च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखलाई हराएको थियो। सिरी ‘ए’ मा तीन अंकको अग्रता लिएको थियो। कोपा इटालियाको सेमिफाइनलमा पनि पुगेको थियो।
तर, यो सबै सपना सपनामै सीमित रह्यो। लगातार तीन हार, त्यो पनि गोल नगरी। यसले गर्दा इन्टर कोपा इटालियाबाट बाहिरियो र सिरी ए शीर्ष स्थान गुमायो। अब इन्टरसँग पेरिस सेन्ट–जर्मेनविरुद्ध च्याम्पियन्स लिग फाइनल मात्रै बाँकी छ। इन्टरले सेमिफाइनलमा बार्सिलोनाविरुद्ध १३ गोलको खेलमा यो सम्भव बनाएको हो।
तर, सिरी ‘ए’ को कथा नेपोलीको नाममा अन्त्य भयो। कोन्टले फेरि एकपटक इटालियन फुटबलमा आफूलाई प्रमाणित गरेका छन्।














