वालिङ। नवौं अर्हान्त स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
वालिङ युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगितामा भूपू सैनिक वालिङ, बालविद्या वालिङ, पायोनियर्स एजुकेसन एकेडेमी र भूपू सैनिक चापकोटले अन्तिम चारमा स्थान बनाएका हुन्।
पहिलो सेमिफाइनलमा वालिङका दुई विद्यालय भूपू सैनिका र बालविद्या भिड्नेछन्।
अर्को खेलमा पायोनियर्स र चापकोटको भेट पक्का छ। प्रतियोगिताको तेस्रो दिन बालविद्याले पर्वत बोर्डिङ स्कुलमाथि १–० को कठिन जित हात पार्यो। बालविद्याको जितमा मोहम्मद साजिद मियाको गोल निर्णायक बन्यो।
अर्को खेलमा भूपू सैनिक वालिङले भूपू सैनिक बयरघारीलाई २–०ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। वालिङको जितमा अनिश राईले दुई गोल गरे। पायोनियर्स र बयरघारीले भने गोलरहित बराबरी खेले।
दिनको अन्तिम खेलमा चापकोटले नेपाल आदर्शलाई ४–१ ले पराजित गर्यो। चापकोटको जितमा गोपाल विकले सबै गोल गरेका हुन्।