काठमाडौं । फागुराम थारूको ५ गोलसँगै च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिग समाप्त गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा प्लानिङले श्री टुसाल युवा क्लबलाई ८–३ ले पराजित गरेको हो।
जितसँगै अपराजित रहँदै शीर्ष डिभिजनमा बढुवा भएको प्लानिङले ३३ अंक जोड्न सफल रह्यो । यो हारसँगै टुसालले १३ खेलमा मात्र ११ अंक जोड्दै लिग टुंगायो।
फागुरामले पाँचवटै गोल पहिलो हाफमा गरेका हुन्। योसँगै उनी लिगको उच्च गोलकर्ता बनेका छन्। उनले आफ्नो गोलसंख्या १४ मा पुर्याए । यसबाहेक रामबाबु कुमार शाह, ओम प्रकाश चौधरी र प्रताप सिंह राईले समान एक गोल गरे ।
पुछारबाट दोस्रो स्थानमा रहँदै यसअघि नै रेलिगेशनमा झरिसकेको टुसालका लागि सुजन माझी, प्रदीप सुनार र विनोद नेम्बाङले गोल फर्काए ।