काठमाडौं। बार्सिलोनाका फरवार्ड राफिन्हाले क्याटालान क्लबसँग २०२८ सम्मका लागि सम्झौता थप गरेका छन्।
ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी राफिन्हाले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ५६ खेलमा ३४ गोल र २५ असिस्ट गरेका छन्।
यो सिजन प्रशिक्षक हान्सी फ्लिकले सबैभन्दा बढी भर गरेका खेलाडी राफिन्हा नै थिए।
बार्सिलोनाका लागि यस सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी भने राबर्ट लेवान्डोव्स्की थिए। उनले ४० गोल गरेका छन्।
२८ वर्षीय राफिन्हाले च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि सबैभन्दा बढी १३ गोल गरे। यद्यपि, सेमिफाइनलमा इन्टर मिलानसँग पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो।
यस सिजन रियल मड्रिडविरुद्ध भएका चारवटै ‘एल क्लासिको’ खेलमा बार्सिलोनाले जित हात पार्दा राफिन्हाले १६ मध्ये ५ गोल गरेका थिए।
राफिन्हाको योगदानमा बार्सिलोनाले यस सिजन स्पेनिस ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जितेको थियो।
राफिन्हा सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोनामा आएका थिए। आफ्नो पहिलो सिजनमा उनले १० गोल र १२ असिस्ट गरेका थिए। सन् २०२३–२४ मा उनले १० गोल र १३ असिस्ट गरे।