काठमाडौं। विश्वकप र आठ पटक बलोन डि’ओर जितेका इन्टर मियामीका स्टार लिओनल मेसीले आठ सयभन्दा गोल गरेका छन्। तीबाट पनि उनले आफूलाई सबैभन्दा बढी मन गर्ने गोल कुन हो भन्ने खुलासा गरेका छन्।
अचम्मको कुरा के भने त्यो गोल उनका चर्चित बायाँ खुट्टाबाट भएको होइन। त्यो त उनले टाउकोले गरेको गोल हो। सन् २००९ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध हेडरमार्फत गरेको गोल नै आफूलाई सर्वोत्कृष्ट लागेको उनले बताएका छन्।
‘मैले धेरै सुन्दर र महत्त्वपुर्ण गोलहरू गरेका छु। तर, च्याम्पियन्स लिग फाइनलमा युनाइटेडविरुद्ध टाउकोले हानेको गोल मेरो सधैं मनपर्ने रह्यो,’ मेसीले बिहीबार बताए।
उनले क्लब र देशका लागि ८०० भन्दा बढी गोल गरिसकेका छन्। ती गोल उनले अर्जेन्टिना, बार्सिलोना, पेरिस सेन्ट-जर्मेन र इन्टर मियामीबाट गरेका हुन्। तर, उनले १६ वर्ष पुरानो त्यो विशेष क्षणलाई रोज्नुको खास कारण छ।
‘यो मेरो जीवनको सबैभन्दा विशेष गोल हो,’ मेसीले केही समयअघि एक अन्तर्वार्तामा भनेका थिए,‘किनभने मैले टाउकोले पनि गोल गर्न सक्छु भनेर कसैले सोचेको थिएनन्।’
त्यो ऐतिहासिक गोललाई कलामा रूपान्तरण गर्दै छिन् चर्चित डिजिटल कलाकार रेफिक अनाडोलले। मेसी र अनाडोल दुवैले हस्ताक्षर गर्ने उक्त कलाकृति क्रिस्टिज नामक प्रसिद्ध अक्सन संस्थाबाट आगामी जुन ११ मा सार्वजनिक गरिनेछ।
यो कलाकृति जुलाई १५ देखि २२ सम्म अक्सन गरिनेछ। क्रिस्टिजका अनुसार यो एक अद्वितीय कलाकृति सम्भवत: कीर्तिमानी मूल्यमा बिक्री हुन सक्छ।
अनाडोल भन्छन्,‘मेसीको त्यो गोल खेलको एक महत्त्वपूर्ण क्षण मात्र होइन, यो मानव मनोविज्ञान, स्मृति र गतिशीलताको जटिल अभिव्यक्ति हो।’ उनले यस कलामा बायोसेन्सर टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली समावेश गर्दै डेटाबाट भावना र स्मृतिबाट आकार सिर्जना गरिने बताएका छन्।
गोलको क्षण यस्तो थियो
रोमको स्टेडियो ओलिम्पिकोमा भएको च्याम्पियन्स लिग फाइनलमा ७०औं मिनेटमा बार्सिलोनाले २–० को अग्रता लिएको थियो। त्यो गोल मेसीको अन्य गोलहरूभन्दा फरक थियो। जाभी हर्नान्डेजले दायाँ भागबाट बल लिफ्ट गर्दै पेनाल्टी बक्सभित्र पठाएका थिए।
त्यो बल झन्डै ९ फिट (२.७० मिटर) माथि थियो। मेसीले उफ्रिएर टाउकोले बललाई डच गोलकिपर एडविन भ्यान डे सार रहेको पोस्टभित्र पठाए। गोलपछि मेसी लडे र एक बुट खुस्कियो। उनले त्यो बुट टिपेर चुम्दै उत्सव मनाएका थिए।
उनको उचाई (५ फिट ७ इन्च) छ। सामान्यतया: यो उचाई फुटबलमा हेडिङ गोलका लागि खासै उपयुक्त मानिँदैन। तर, मेसीले असम्भव देखिने क्षणलाई पनि सम्भव बनाउने क्षमता राखेका थिए।
मेसी भन्छन्,‘मैले पहिले नै रेफिक अनाडोलको काम देखेको थिएँ। तर, मियामीमा भेट भएपछि त्यो गोललाई कलात्मक रूप दिने उनको क्षमताले मलाई उत्साहित बनाएको छ।’
यस अक्सनबाट उठेको रकम मियामी सिएफ फाउन्डेसन र युनिसेफको साझेदारीलगायत विभिन्न गैरनाफामूलक संस्थाहरूलाई दिइने बताइएको छ।