काठमाडौं। अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट बिदा लिने भएका छन्।
३९ वर्षीय मोड्रिचले यस सिजनको अन्त्यसँगै क्लब छोड्ने रियलले बिहीबार आधिकारिक रूपमा जानकारी दिएको हो।
‘हाम्रो क्लब र विश्व फुटबलका एक साँचिकै महान् खेलाडीप्रति गहिरो कृतज्ञता र सम्मान व्यक्त गर्दछौं। मोड्रिच हाम्रो क्लबको इतिहासमा एक साँचो लेजेन्ड बनिसकेका छन्,’ क्लबले भनेको छ।
उनी सन् २०१२ मा टोटनह्यामबाट रियल आएका थिए। उनी क्लबको इतिहासमै सबैभन्दा सफल अवधिमा मुख्य हिस्सा बने। उनले १३ सिजनमा २८ उपाधि जितेका थिए।
उनले समान ६ पल्ट च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए। पाँचपल्ट युरोपियन सुपर कप, चारपल्ट ला लिगा, दुईपल्ट कोपा डेल रे र पाँचपल्ट स्पेनिस सुपर कप जितेका थिए।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस सिजन मोड्रिचको खेल्ने समय सीमित गराएका थिए। यद्यपि, मैदानबाहिर उनको अनुभव र उपस्थिति टोलीका लागि महत्त्वपूर्ण नै रहँदै आएको थियो।
अब उनी जुन महिनाको मध्यमा अमेरिकामा सुरु हुने क्लब विश्वकपपछि रियलबाट बिदा हुनेछन्।