काठमाडौं। युरोपा लिगको फाइनलमा टोटनह्यामसँग १–० को हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिम झन् ठूलो दबाबमा परेका छन्।
यो हारसँगै युनाइटेडको इतिहासकै एकदमै खराब सिजनमा गनिन थालेको छ। ‘मसँग अहिले फ्यानलाई देखाउने केही छैन। म इमानदार छु। तर, म अझै पनि आफूले जानेको तरिकाबाट नै काम गर्दै जानेछु,’ अमोरिमले खेलपछि पत्रकार सम्मेलनमा भने।
४० वर्षीय अमोरिमले नोभेम्बरमा एरिक टेन हागलाई हटाएर जिम्मेवारी लिएका थिए। तर, त्यसयता प्रिमियर लिगमा युनाइटेड १६औं स्थानमा झरेको छ। क्लबले सन् १९९२ पछि पहिलोपटक १८ हार बेहोरेको छ। यो प्रिमियर लिग युगको सबैभन्दा खराब रेकर्ड हो।
‘म राजीनामा दिने छैन, न त आफूलाई परिवर्तन गर्नेछु। मैले अहिले नै आफ्नो भविष्यबारे बोल्न चाहन्न। यदि बोर्ड र फ्यानलाई सही व्यक्ति होइन भन्ने लाग्यो भने म भोलिपल्ट नै क्लब छोड्न तयार छु। तर, म आफ्नो कामप्रति पूर्ण आत्मविश्वासी छु,’ उनी भन्छन्।
युनाइटेडको आगामी सिजनका लागि युरोपियन प्रतियोगितामा स्थान पाउने अन्तिम मौका बुधबारको फाइनल थियो। हारसँगै युनाइटेड च्याम्पियन्स लिग मात्र होइन। कुनै पनि युरोपियन कपमा खेल्ने सम्भावना गुमाएको छ।
‘हामीसँग नयाँ खेलाडी ल्याउने दुईवटा योजना छन्,’ अमोरिमले भने, ‘हामीजस्तो क्लब च्याम्पियन्स लिगमा नहुने कुरा पीडादायी हो। तर, यसलाई सकारात्मक रूपमा पनि हेर्न सक्छौं। योजना बनाउन अब हामीसँग बढी समय छ।’