काठमाडौं। अल–नासरका कप्तान क्रिस्टियानो रोनाल्डोलाई अर्को चर्चित क्लबबाट क्लब विश्वकप खेल्ने बाटो खुलेको छ।
फुटबलको सर्वोच्च निकाय (फिफा) ले बुधबार आगामी महिना अमेरिकामा हुन लागेको क्लब विश्वकपमा सहभागी हुने सबै ३२ टिमले अन्तिम समयसम्म खेलाडी अनुबन्धन (लास्ट–मिनेट ट्रान्सफर) गर्न पाउने जानकारी दिएको हो।
योसँगै रोनाल्डोजस्ता क्लब विश्वकपमा खेल्न नपाउने खेलाडीले छोटो अवधिको सम्झौतामा अन्य क्लबबाट खेल्न पाउने भएका हुन्। फिफाले गत वर्ष गरेको प्रस्तावअनुसार सबै २० देशका राष्ट्रिय फुटबल महासंघले जुन १४ मा मियामीबाट सुरु हुने महिनाब्यापी प्रतियोगिताका लागि विशेष ट्रान्सफर विन्डो स्वीकृत गरिसकेका छन्।
यी ट्रान्सफर जुन १ देखि १० र जुन २७ देखि जुलाई ३ बीच गर्न सकिनेछ। ‘हाम्रो उद्देश्य भनेको अनुबन्ध सकिँदै गरेका खेलाडीलाई खेल्नका लागि उपयुक्त समाधान निकाल्न सहयोग गर्नु हो,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
४० वर्षीय पोर्चुगिज स्टार रोनाल्डो हाल साउदी क्लब नासरमा छन्। तर, यो क्लब २०२१ देखि २०२४ को बीचमा एएफसी च्याम्पियन्स लिग जित्न असफल रह्यो। त्यसैले क्लब विश्वकपमा छनोट हुन सकेन।
यद्यपि, फिफाले खुला ट्रान्सफर विन्डो घोषणा गरेसँगै रोनाल्डोलाई छोटो अवधिको ऋण सम्झौतामा कुनै क्लबले ल्याउने सम्भावनाको हल्ला फेरि चर्किएको छ। यस्तो कदमले प्रतियोगिताको प्रचार, टिकट बिक्री र अन्तर्राष्ट्रिय ध्यान बढाउने भएकाले फिफाको लागि पनि यो आकर्षक विकल्प हुन सक्छ।
लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–आर्नोल्ड जुन ३० मा लिभरपुलसँगको सम्झौता सकिने क्रममा छन्। उनी सम्भवत: रियल मड्रिड जाँदैछन्। योसँगै उनी क्लब विश्वकपमा अमेरिका जाने सम्भावना बलियो छ। लिभरपुल भने क्लब विश्वकपमा छनोट भएको छैन।