काठमाडौं। दक्षिण कोरियाली स्टार सन ह्युङ–मिनका आँखामा खुसी झल्किरहेको थियो।
उनले ट्रफी चुमे। उठाए र आफ्ना टिममेटहरूसँग गर्वका साथ उत्सव मनाए। टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेपछि सनको दशकौंको सपना साकार भएको हो।
‘यो उपाधि मलाई चाहिएको थियो। त्यसैले यो खेलमा दबाब थियो। गएको सात दिनदेखि हरेक रात यो खेलको सपना देख्थें। अब त्यो सपना पूरा भएको छ। अब म शान्त मनले सुत्न सक्छु,’ उनी भन्छन्।
केही हप्ताअघि मात्र उनले आफ्ना पूराना सहयात्री ह्यारी केनलाई पहिलो ट्रफी जितेकोमा बधाई दिएका थिए। टोटनह्याम छाडेर बायर्न म्युनिख पुगेपछि केनले पहिलो उपाधि जिते। तर, सनले भने टोटनह्याममै रहँदै उपाधि जिते। यो सन् २००८ पछि क्लबले जितेको पहिलो उपाधि हो।
‘आजको दिनका लागि म आफैंलाई लिजेन्ड’ भनें भने केही हुँदैन होला,’ सन मुस्काउँदै भन्छन्, ‘१७ वर्षमा कसैले गर्न नसकेको कुरा आज भयो। आजको दिन म भन्न सक्छु– म लिजेन्ड हुँ। आज मेरो जीवनको सपना पूरा भएको दिन हो।’
सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग हारेको टोलिबाट सन एक्लो खेलाडी हुन्, जो अझै टोटनह्याममा छन्। उनी त्यतिबेला केनसँग प्रिमियर लिगकै उत्कृष्ट आक्रमण जोडीको रूपमा चिनिन्थे।
चोटबाट फर्केका सन ६७ औं मिनेटमा मैदान प्रवेश गरे। अन्त्यमा दक्षिण कोरियाली झण्डा ओढेर टिमसँग जर्बजस्त खुसी साटे। स्ट्यान्डमा रहेका समर्थकहरूप्रति उनले सम्मान प्रकट गरे।
यस सिजन टोटनह्यामका लागि खासै राम्रो रहन सकेको थिएन। प्रिमियर लिगको १७औं स्थानमा रहँदै युरोपियन प्रतियोगिताको आशा लगभग सकिएको थियो। त्यसैले सिधै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न युरोपा लिगको उपाधि जित्नैपर्ने दबाब थियो। त्यसैले जित अझै महत्त्वपूर्ण बन्यो।
सनका लागि यो जित व्यक्तिगत हिसाबले मात्र होइन, सम्पूर्ण टोटनह्यामको इतिहासकै अविस्मरणीय क्षण हो।
‘सिजनभरि कहिलेकाहीँ कठिन पल आए। तर, हामी अडिएर लड्यौं,’ ३२ वर्षीय सनले भने, ‘जुनियर खेलाडीहरू जबर्जस्त रूपमा अघि बढे। मैले सधैं सकारात्मक कुरा गर्ने र उनीहरूलाई सल्लाह दिने प्रयास गरें। म निकै भाग्यमानी छु कि यति उत्कृष्ट खेलाडीहरूसँग म छु।’