काठमाडौं। भिल्लारियालले आइतबार स्पेनिस ला लिगामा ३–२ ले पराजित गर्दै बार्सिलोनाको अपराजित यात्रामा ‘ब्रेक’ लगाएको छ। योसँगै बार्सिलोनाको उपाधि उत्सव केही हदसम्म खल्लो भएको छ।
बार्सिलोनाले यसै आफ्नो २८औं ला लिगा उपाधि जितिसकेको थियो। आइतबारको मोन्तजुइक स्टेडियममा सिजनको अन्तिम घरेलु खेलपछि टिमले ट्रफी समर्थकमाझ उचालेको थियो। खेलपछि खेलाडीहरूलाई एकएक गरी प्रस्तुत गरियो र त्यसपछि ट्रफी उठाइएको थियो।
मोन्तजुइकमै स्पेनिस सुपर कप र कोपा डेल रे ट्रफी पनि प्रदर्शनीमा राखिएका थिए। ती ट्रफीलाई वरिपरि घेराबन्दी गर्दै खेलाडीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए।
बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले भने, ‘हामीले हासिल गरेका उपाधिमाथि गर्व गर्न सक्छौं। यो सिजन सबै हिसाबले उत्कृष्ट रह्यो।’ खेलअघि भिल्लारियालले नयाँ च्याम्पियनको सम्मानमा ‘गार्ड अफ अनर’ पनि दिएको थियो।
भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ। अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओसँगै पाँचौं स्पेनिस टोलीको रूपमा भिल्लारियालले अर्को सिजन युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता खेल्नेछ।
बार्सिलोना, रियल, एट्लेटिको र एथ्लेटिक बिल्बाओ साउदी अरेबियामा हुने अर्को वर्षको स्पेनिस सुपर कप पनि खेल्नेछन्। भिल्लारियालले चौथो मिनेटमै आयोजे पेरेजको गोलबाट अग्रता लिएको थियो। त्यसपछि बार्सिलोनाका किशोर स्टार लामिन यमलले उत्कृष्ट कर्लिङ लेफ्ट फुटेड गोल गरेर बराबरी गरे। पहिलो हाफको इन्जुरी समयमा फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाए।
तर, दोस्रो हाफमा सान्टियागो कोमेसान्याले बराबरी गोल गरे र ८०औं मिनेटमा ताजोन बुकाननले निर्णायक गोल गर्दै भिल्लारियाललाई जिताए। यो सायद बार्सिलोनाको लागि मोन्तजुइक स्टेडियममा अन्तिम खेल हो।
बार्सिलोना अब अर्को सिजन निर्माणाधीन अवस्थामा नै भए पनि क्याम्प नोउ फर्कने तयारीमा छ।