काठमाडौं। अर्जेन्टिनी कप्तान लिओनल मेसीले क्याटलान क्लब बार्सिलोना छोड्दा धेरैलाई लाग्थ्यो— यस्तो अद्वितीय प्रतिभा जन्मन फेरि एक पुस्ता कुर्नु पर्छ। तर, त्यो कुर्ने समय केही वर्षमै टुंगिएको छ।
१७ वर्षीय लामिन यमलले यस सिजन बार्सिलोनाबाट अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको ‘नेक्स्ट बिग थिङ’ को रूपमा स्थापित गरेका छन्। अझ रोचक त के भने स्पेनिस लिगको उपाधि सुनिश्चित गर्ने निर्णायक गोल पनि उनैले गरे।
यमल दायाँ भागबाट बल लिएर भित्र छिर्छन्। टाउको हलुका झुकाउँदै ड्रिबल सुरु गर्छन्। त्यो बेला विपक्षी खेलाडीलाई थाहा हुन्छ उनी के गर्दैछन्। उनलाई रोक्न सक्ने पनि कोही हुँदैनन्।
एस्पान्योलविरुद्ध पनि त्यही भयो। बायाँ खुट्टाको उत्कृष्ट प्रहारमार्फत बललाई टप कर्नरमा पठाउँदै उनले २–० को जित पक्का गरे। योसँगै बार्सिलोनाले २८औं ला लिगा उपाधि सुनिश्चित गर्यो। त्यो पनि दुई खेलअगाबै।
उनका सहकर्मी राफिन्हाले भन्छन्, ‘हामीसँग सुन झिक्ने खुट्टा भएको केटो छ!’ यमलले आफूलाई मेसीसँग तुलना नगरिदिन बारम्बार आग्रह गरिरहेका हुन्छन्। तापनि उनको खेल्ने शैली हेर्दा मेसीको झल्को दिलाउँछ। दायाँ विंगबाट भित्र छिर्ने, बायाँ खुट्टाले प्रहार गर्ने, ड्रिबल, पासलगायत सबै शैलीमा मेसीको छाया देखिन्छ।
तर, यमलसँग आफ्नै विशेषता छन्। उनको शरीरको लचकता, ड्रिब्लिङको रफ्तार, बाहिरी भागले दिएको क्रस सबैमा उनको मौलिकता झल्किन्छ। उनको पासिङ सटिक छ। उनी खेलमै लय परिवर्तन गरिदिन सक्छन्।
यमलले अहिलेसम्मकै सबैभन्दा कान्छा स्कोरर र डेब्युजस्ता धेरै कीर्तिमान बनाइसकेका छन्। १५ वर्षको उमेरमा लिग डेब्यु गरेका उनी १८ नपुग्दै दुई ला लिगा उपाधि, एक कोपा डेल रे, एक स्पेनिस सुपर कप र स्पेनका लागि युरोपियन उपाधि जितिसकेका छन्।
यस सिजन उनले सबैभन्दा धेरै १३ असिस्ट गरेका छन्। उनीसँग १४९ सफल ड्रिबल छन्। यो दोस्रो स्थानमा रहेका खेलाडीको तुलनामा ६० भन्दा धेरै हो। उनी यो सबै सफलताको श्रेय जर्मन प्रशिक्षक ह्यान्सी फ्लिकलाई दिन्छन्।
उनको नेतृत्वमा बार्सिलोनामा नयाँ ऊर्जा थपिएको यमलको बुझाइ छ। ‘हामी जित्न थालेका छौं। क्लबको मानसिकता फेरिएको छ,’ उनले भने।
बार्सिलोनाको भविष्य अझ उज्यालो देखिन्छ। यमलसँगै बार्सिलोनामा अन्य खेलाडीलाई पनि युवा अवस्थामै छन्। पेड्री २२ वर्ष पुगेका छन्। डिफेन्डर पाउ कुबार्सी १८, गाभी २०, बाल्डे २१ र फर्मिन लोपेज २२ वर्ष।
रियल मड्रिडसहित युरोपका ठूला क्लबका लागि अब खतरा यमल युगको हो। बार्सिलोनाले फेरि एक सशक्त युग सुरु गर्न लागेको संकेत दिइरहेको छ। र, त्यो युग यमलको नाममा चिनिन सक्छ।